शीर्षकहरू

इम्पेरमेन्ट चार्ज घटेसँगै मेरो माइक्रो फाइनान्सको नाफा उल्लेख्य बढ्यो

इम्पेरमेन्ट चार्ज घटेसँगै मेरो माइक्रो फाइनान्सको नाफा उल्लेख्य बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड ३८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ८४६ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ३० लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । 

यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज घटेकाले सञ्चालन नाफामा सकारात्मक प्रभाव पर्दा खुद नाफामा उल्लेख्य बृद्धि देखिएको हो । गत वर्ष १ करोड ३६ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १७ करोड ५८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । इम्पेरमेन्ट चार्ज गत वर्ष १३ करोड ४९ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ३ करोड ८८ लाख रूपैयाँभन्दा बढी रहेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३२ करोड रूपैयाँ रहेको छ ।

 रिटर्न अर्निग ९ करोड ३७ लाख रूपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम भने ६१ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ । यस वर्ष कर्जा सापटी ८ अर्ब २९ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको कर्जा प्रवाह १३ अर्ब ९९ करोड रूपैयाँभन्दा बढी रहेको छ । 

निक्षेप संकलन भने ३ अर्ब ३९ करोड रूपैयाँभन्दा बढी छ । गत वर्ष ९ दशमलव १० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ७ दशमलव ६१ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी १२ रूपैयाँ ५१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १५३ रूपैयाँ ७२ पैसा छ ।