शीर्षकहरू

इलाम २ मा रास्वपाको धरौटी जफत

इलाम २ मा रास्वपाको धरौटी जफत

काठमाडौं । उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाले ५ हजार ५० मत मात्र ल्याएपछि जमानत जफत भएको हो । रास्वपाका उम्मेदवार मिलन लिम्बु माओवादी केन्द्र त्यागेर उपनिर्वाचनमा उम्मेदवार बनेका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४को व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत पनि पाउन नसकेपछि लिम्बुको जमानत जफत भएको हो ।

उपनिर्वाचनमा गणना भएको ६९ हजार ३७४ मतमध्ये ६८ हजार ४७२ मत सदर भएको थियो । ९०२ मत बदर भएको थियो । मिलन पाएको मत कूल सदर मतको १० प्रतिशत नपुग्ने भएकाले उनको जमानत (धरौटी) जफत भएको हो ।

इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २७ हजार ७७२ मतसहित विजयी भएका छन् ।  निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाए भने अर्का स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका छन् ।