हजुरी विष्ट उर्फ ‘अचार आमा’

२१ चैत्र २०८०

cover image

हजुरी विष्ट उर्फ ‘अचार आमा’ । सेतै फुलेको कपाल, हँसिलो मुहार, अनि जोसिलो हाउभाउ । उमेरले उनी सात दशक पुगिन् । तर, उनको कर्मप्रतिको सक्रियताले उमेर छोपिदिएको छ ।        

उनी अचार उद्यमी हुन् । त्यसैले उनलाई धेरैले ‘अचार आमा’ पनि भनेर चिन्ने गरेका छन् । काठमाडौंको धोविघाट निवासी उनी अचार व्यवसायमा लागेको तीन दशक नाघिसक्यो ।  

‘मैले अचार बनाउन थालेको ३० वर्ष नाघ्यो । किचनबाट सुरु गरेको यो कामलाई उद्योग बनाए । अहिते त धेरैले अचार आमा भनेर चिन्नु हुन्छ’, उनले सुनाइन् ।  

रहर नर्सरी व्यवसायको, बनिन् अचार उद्यमी

हजुरी विष्टलाई पहिलेदेखि नै व्यवसाय गर्ने रहर थियो । नर्सरी व्यवसायी बन्ने उनको रहर भने पुरा हुन सकेन । घरपरिवारको रेखदेखमा मात्रै समय सकाउन हुँदैन भन्ने उनको मान्यता थियो । नर्सरी नै नभएपनि केही न केही व्यवसाय गर्छु भन्ने उनको अठोट थियो ।

‘आफूलाई केही न केही गर्नु पर्छ भन्ने लाग्थ्यो । नर्सरी व्यवसायमा मेरो चाख थियो । तर, यस क्षेत्रमा काम गर्न उपयुक्त तालिम दिने कोही नभेटेपछि नर्सरीमा हात हाल्न सकिनँ । पछि गृहिणीलाई उद्यमी बनाउने तालिम लिएँ ।  अनि अचार बनाउन थालेँ’, उनले सुनाइन् ।

त्यतिबेला महिला उद्यमी संघ नेपालले ४५ जना गृहिणीलाई तालिम दिएको थियो । २१ दिनसम्म चलेको तालिममा उनले विभिन्न खानेकुरा सम्बन्धी ज्ञान हासिल गरिन् । तालिममा अचार बनाउने सिप सिकिन् । र, अचार बनाउन थालेको उनी सुनाउँछिन् । 

तीन वर्षसम्म उनले घरमै अचार बनाएर बिक्री गरिन् । ‘त्यतिबेला अहिलेजस्तो अचारको खासै बजार थिएन । आयातित अचारहरू ठूला सुपर मार्केटहरूमा मात्रै पाइन्थे । मेले तीन वर्षसम्म वरिपरि, चिनेजानेहरुलाई अर्डर अनुसार अचार बनाएर बिक्री गरेँ’ हजुरी भन्छिन् ।   

घरको काम सकाएर उनी अचार बनाउने गर्थिन । तीन वर्षसम्ममा उनले अचारमा आफूलाई पोख्त बनाइसकेकी थिइन । ‘तीन वर्षसम्म मैले किचनमा धेरै मेहनत गरे । त्यो अवधिमा मैले आफूलाई अचार बनाउने काममा ‘ग्रयाजुयट’ बनाए’, उनी सुनाउँछिन् ।

त्यसपछि उनले व्यवसायिकरुपमा यसलाई विस्तार गरिन् । धोबिघाटमै रहेको घरमा उनले दुई लाख लगानी गरेर एउटा टहरा बनाइन् । घरको किचनबाट टहरासम्म पुर्‍याएको अचारको व्यवसाय फस्टाउँदै गयो । वि.सं २०६८ सालमा उनले  हजुरी खाद्य उद्योग भनेर अचार व्यवसाय दर्ता गरिन् । सो उद्योगमा उत्पादित अचार नवरस ब्रान्डबाट बजारमा पुर्‍याउन थालिन ।

‘नेपाली बजारमा नेपाली स्वादको अचार राम्रो खपत हुने रहेछ । मैले बनाएको अचार बजारमा राम्ररी बिक्री भयो । बजार थप विस्तारका लागि एक सहकारीमा आबद्ध भएर त्यो सहकारीको नवरस ब्राण्डबाट अचार बजारमा पुर्‍याए’, उनले बजारीकरणको विधिबारे सुनाइन् ।

आफ्नै ब्रान्ड किचेन रेसिपी   

लामो समयसम्म नवरस ब्राण्डबाट अचार बजारमा पुर्‍याइन् । ६ वर्षयता भने उनले आफ्नै ब्रान्ड किचेन रेसिपी स्थापना गरिन् । अहिले उनले सो मार्फत बजारमा अचार पुर्यारहेकी छिन् । 

उनको यो व्यवसायमा अहिले छोराछोरी र ज्वाइँ पनि जोडिएका छन् । छोरीज्वाइको सल्लाहमा उनले अचार घर नाम दिएर रेस्टुरेन्ट खोलेकी छिन् । उनले २०७४ मा अचार रेस्टुरेन्ट खोलेकी हुन् । जहाँ किचेन रेसिपीका अचारसँगै नेपाली मौलिक खानेकुरा पाइन्छन् ।

‘अचारबाट नै रेस्टुरेन्ट खोले । अहिले काठमाडौंको कमलपोखरी, भैसेपाटीमा ‘अचार घर’  रेस्टुरेन्ट खोलेको छु । तीन चार महिनाभित्रमा कुपण्डोलमा पनि खोल्दछौँ’, उनले भनिन् । 

अचार व्यवसायमा पाएको सफलताकै कारण उनका परिवार पनि यसमै जोडिएको उनी सुनाउँछिन् । हजुरी भन्छिन्, ‘छरछिमेकीमा सबैका छोराछोरी विदेश पलायन भइरहेका बेला मैले मेरा छोराछोरीलाई यहि व्यवसायमा लगाउन सकेँ। नयाँ नयाँ सोचसहित यहि व्यवसायलाई निरन्तरमा दिन थालेका छन् ।’  

विदेशमा निर्यात, गृहिणीलाई रोजगारी  

उनको तयार गरेको अचार नेपाली बजारमा मात्रै सीमित छैन । अन्तर्राष्ट्रिय बजारमा समेत पुर्‍याएकी छिन् । अमेरिका, अस्ट्रेलिया, बेलायत, दुबईमा उनले बनाएको अचार पुग्छ ।  

उनले विभिन्न थरिका अचार बनाउँछिन् । सामान्य फलदेखि मासुको समेत अचार बनाउने गर्छिन् । उनी करिब ४५ भन्दा बढी स्वादका अचार तयार गर्छिन् ।    

उनले हरेक वर्ष नयाँ नयाँ स्वाद थप गर्दै जाने गरेकी छिन् । हजुरी भन्छिन्, ‘हामीले ग्राहकको प्रतिक्रिया पनि लिने गरेका छौँ । सोही अनुसार ग्राहकको माग अनुसार हरेक वर्ष एक/दुई वटा नयाँ स्वादका अचार तयार गर्ने गरेका छौँ ।’ 

उनले तयार गरेको अचार एक सय ५० रुपैयाँदेखि एक हजार रुपैयाँसम्मका छन् । वार्षिकरुपमा उनले अचार बेचेर ६० लाख आम्दानी गर्छिन् । अचार बनाउनका लागि उनले अन्य गृहिणी महिलाहरूलाई रोजगारी समेत दिएकी छिन् । उनको उद्योगमा २२ जना महिलाहरूले रोजगारी पाएका छन् ।   

भूकम्पले संरचना ढल्यो, ढलेन ग्राहकको माया 

अचारसँग बिताएको उनको ३० वर्षको यात्रा उतारचढावपूर्ण नै रह्यो । उद्योग दर्ता गरेको चार वर्षमै उनको उद्योगको संरचना ढल्यो । २०७२ सालमा आएको भूकम्पका कारण उनको धोविघाटमा रहेको उनको उद्योग ढलेको थियो ।

ढलेको उद्योग पुनः उठाउनका लागि उनले बैंकको सहारा लिइन । ‘भूकम्पका कारण मेरो उद्योग ध्वस्त भयो । त्यो बेला बैंकबाट ५० लाख ऋण लिएर पुनः संरचना बनाएर सुरु गरेँ’, उनले सुनाइन् ।

भूकम्पबाट उनको ४० लाखको हाराहारी क्षति भयो । तयार बनाइएका सबै अचार बिग्रिए । अचार राख्नका लागि किनेर ल्याइए सामान, सिसाका भाँडा सबै काम नलाग्ने भए । तर, बजारमा माग घटेन ।

बजारमा माग भइरहेका कारण ऋण लिएर पुनः संरचना बनाएको उनी सुनाउँछिन् । ‘संरचना ढल्यो, कच्चापदार्थ काम नलाग्ने भए । तर, ग्राहकको माया घटेन’, हजुरी सुनाउँछिन्  ।

सिप, मेहनत र धैर्य भएमा सफल

महिलाहरूलाई उद्यमी बन्नका लागि चुनौतीसँगै अवसरहरू पनि पर्याप्त रहेको उनको अनुभव छ । नयाँ उद्यमी बन्न चाहानेहरुलाई  सुझाव दिँदै उनी भन्छिन्, ‘महिलाहरू उद्यमी बन्नका लागि आफैमा एउटा चुनौती छ । आफू उद्यमी बन्नका लागि घरदेखि नै संघर्ष गर्नु पर्छ । तर, दृढ संकल्प लिएर अगाडी बढ्ने हो भने नहुने, नसक्ने भन्ने केही छैन ।’ 

तर, बजारमा अरूले गरेको देखेर आफू पनि उद्यमी बन्ने भनेर लाग्न नहुने उनको सुझाव छ । हजुरी भन्छिन्, ‘पहिले आफू के बन्ने हो भनेर त्यसमा ज्ञान प्राप्त गर्नु पर्छ । अरूको व्यवसाय चल्यो भनेर आफू पनि हाम फाल्न हुँदैन । हातमा सिप, मेहनत र धैर्यता भयो भने सफल हुन सकिन्छ ।’

Image

अनुसन्धानका क्रममा अहिलेसम्म आफन्तजन, घर वरिपरी र उनीहरूका घरपरिवारसँग जोडिएका सबै गरी दुईसय जनाभन्द...

Image

तनहुँ  । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले आठ करोड र...

Image

‘उनले कांग्रेस लोकतन्त्रप्रति प्रतिबद्ध रहेको भन्दै विगतमा कांग्रेस नेतृत्वको सरकारका पालामा छानबिन ...

Image

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत ...

Image

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको चैत्र मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्...

Image

असफल सहकारीको अध्यक्ष हुनुभन्दा सफल सहकारीको सदस्य बन्नु नै राम्रो रहेको उनले सुझाव दिए । जुन उद्देश...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४