शीर्षकहरू

हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउनबारे सोचिरहेको छुः अर्थमन्त्री

हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउनबारे सोचिरहेको छुः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया गरेका छन् । सोमबार मन्त्रालयमा उनले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् । 

कार्यक्रममा महासंघ अध्यक्ष एवं सञ्चार उद्यमी शोभा ज्ञवाली, डा. माला खरेल, अभिलाषा पौडेललगायतले महिला उद्यम प्रवद्र्धनका लागि बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए । कार्यक्रममा अर्थमन्त्री पुनले महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने बताए । बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्थाहरु गर्ने सोचमा आफू रहेको उनको भनाइ थियो ।

बढीभन्दा बढी महिलालाई कसरी उद्यमी बनाउन सकिएला भन्नेबारे आफूलाई सुझाव दिन उनले आग्रह गरे । ‘महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरुले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन्छ । राम्रो शिक्षा भएपछि छोरीहरु आफैं आत्मनिर्भर बन्छन् । छोरीहरु आर्थिक रुपले अघि आउँदा मात्र राजनीति, प्रशासन, सामाजिक सेवा सबैतिर महिला अगाडि आउने वातावरण बन्छ ।’ मन्त्री पुनले मुलुकको समग्र विकास र आर्थिक समुन्नतिका लागि महिला आर्थिक रुपले बलियो हुनुपर्ने अनिवार्य सतै रहेको उल्लेख गरे  ।

मन्त्री पुनले महिलाका नाममा पास गर्दा घरजग्गाको रजिष्ट्रेशनमा शुल्क छुट दिने नीतिका कारण २७ प्रतिशत महिला सम्पत्तिको मालिक भएको स्मरण पनि गरे । ‘२७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था छ । बाबुआमाले पनि सम्पत्तिको हक राख्ने भएकाले पढाउनुपर्छ छोराछोरी बराबर हो भन्ने धारणाको विकास भएको छ । 

‘किन भने छोरी पढायो भने बुहारी पनि पढेकै आउँछ भन्ने लाग्न थालेको छ । यो सम्पत्ति सम्बन्धका कारण भएको परिवर्तन हो । पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था पर्याप्त छ । तर, कमै मात्र छोरीहरुको हातमा सम्पत्ति भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै छैन’, उनले भने, ‘यो वर्षको बजेटमा हजारौं छोरीहरुलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको छु ।’