शीर्षकहरू

हिमालयन रि–इन्स्योरेन्सको नाफा ६० करोडभन्दा बढी

हिमालयन रि–इन्स्योरेन्सको नाफा ६० करोडभन्दा बढी

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ९९ दशमलव ७३ प्रतिशत बढी भएको छ । गत वर्ष ३० करोड १७ लाख रूपैयाँभन्दा बढी रहेको खुद नाफा यस वर्ष ६० करोड २७ लाख रूपैयाँभन्दा बढी भएको हो ।

यस वर्ष कम्पनीको कुल आम्दानी ९२ दशमलव ८४ प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब २८ करोड रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष २ अर्ब ४६ करोड रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । कुल खर्च पनि यस वर्ष ८९ प्रतिशतभन्दा बढी भएको छ । गत वर्ष ८४ करोड ९५ लाख रूपैयाँभन्दा बढी कुल खर्च गरेको कम्पनीले यस वर्ष १ अर्ब ६० करोड रूपैयाँभन्दा बढी कुल खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब रूपैयाँ रहेको छ । ४ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १० अर्ब ४० करोड कायम हुनेछ । कम्पनीले सर्वसाधारणमा भर्खरै आईपीओ जारी गरेको हो । गत पुस ११ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षनै लाभांश वितरण गर्न लागेको हो । बोनससँगै कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । 

बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको आधारमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । प्रस्तावित लाभांशसँगै हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि कम्पनील फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले १० शेयर वराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रूपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद पछि कम्पनीको चुक्तापूँजी १८ अर्ब ७२ करोड रूपैयाँ कायम हुनेछ ।

२०८० साल माघ मसान्तसम्म २० अर्ब चुक्तापूँजी पु¥याउनुपर्ने अवस्थामा कम्पनीले बोनस शेयर र हकप्रद मार्फत पूँजी बढाउन लागेको छ । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका लागि तय गरेको न्यूनतम चुक्तापूँजी कायम गर्न हकप्रद पछि पनि कम्पनीलाई थप १ अर्ब २८ करोड रूपैयाँ आवश्यक हुन्छ । 

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटर्न अर्निग ६९ करोड २८ लाख रूपैयाँभन्दा बढी र अन्य इक्वीटी २ करोड ४१ लाख रूपैयाँभन्दा बढी रहेको छ । प्रतिशेयर आम्दानी १२ रूपैयाँ ५ पैसा रहेको कम्पनीले प्रतिशेयर नेटवर्थ भने १४७ रूपैयाँ ३० पैसा छ ।