काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कार्डको अनधिकृत प्रयोगबाट निक्षेपकर्ताको रकम हिनामिना वा चोरी नहोस् भन्ने उद्देश्यले सीमा निर्धारण गर्ने गरिन्छ । यस्तो कार्डबाट कतिसम्म नगद निकाल्न सकिन्छ भन्नेबारे धेरैको चासोको विषय हुनसक्छ । यहाँ हामीले यसबारे जानकारी दिन खोजेका छौँ ।
नेपाल राष्ट्र बैंकका अनुसार यदि कुनै पनि ग्राहकले प्रिपेड कार्ड लिएका छन् भने उसले एक पटकमा १० हजारसम्म, एक दिनमा २० हजारसम्म र एक महिनामा २ लाख रुपैयाँसम्म नगद निकाल्न सक्छन् ।
त्यस्तै, डेबिट कार्ड लिएका ग्राहकहरूले एक पटकमा २५ हजारसम्म, एक दिनमा एक लाखसम्म र एक महिनामा ४ लाख रुपैयाँसम्म नगद निकाल्न सक्छन् । यसका साथै क्रेडिट कार्डमा भने कार्डको १० प्रतिशत मात्रै सीमा तोकिएको छ ।
यदि कुनै पनि ग्राहकले भुक्तानी सेवा प्रदायकको प्रिपेड कार्ड लिएका छन् भने तोकिएको एटिएमबाट एक दिनमा पाँच हजार र एक महिनामा २५ हजार रुपैयाँ नगद निकाल्न सक्छन् ।