शीर्षकहरू

एनआईबिएल प्रगति फण्डको खारेजी प्रक्रिया शुरु

एनआईबिएल प्रगति फण्डको खारेजी प्रक्रिया शुरु

काठमाडौं । एनआईबिएल प्रगति फण्ड परिपक्व भएसँगै खारेजी प्रक्रिया अघि बढाएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रबद्र्धक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालिय यस योजना गत पुस २६ गते परिपक्व भएको हो । नेपाल धितोपत्र बोर्डबाट फागुन ६ गते प्राप्त निर्देशन बमोजिम योजना खारेजी प्रक्रियामा लगिएको जानकारी योजना व्यवस्थापकले दिएको छ ।

सामूहिक लगानीकोष नियमावली, २०६७ को नियम ३२ को उपनियम (३) को व्यवस्था बमोजिम योजनाको नाममा रहेको लगानीलाई तीन महिनाभित्र नगदमा परिणत गरी इकाईधनीहरूलाई उनीहरूको स्वामित्वको अनुपातमा फिर्ता गर्नुपर्ने हुन्छ । यसैका लागि योजनाले आफ्नो स्वामित्वमा रहेका सूचीकरण हुन बाँकी बोनस तथा हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।

चैत १९ गतेदेखि योजनाको स्वामित्वमा रहको रिडी पावरको ६ हजार ५८९ कित्ता हकप्रद शेयर, माउन्टेन ईनर्जीको १ हजार ४१० कित्ता बोनस शेयर , समाज लघुवित्तको २२ कित्ता बोनस शेयर, हिमालयन रिइन्स्योरेन्सकोे ४२८ कित्ता बोनस शेयर र डिप्रोक्स लघुवित्तको २ हजार ९२९ कित्ता बोनस शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।

यी शेयरको मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी १० अंकले भाग जाने संख्यामा आवेदन दिनुपर्नेछ । सो नभएमा आवेदन स्वतः रद्द हुने भनाई योजना व्यवस्थापकको छ । यी शेयर खरिदका लागि चैत २७ गते अपरान्ह ३ बजेभित्र एनआइएमबि एस क्यापिटलको लाजिम्पाट, काठमाडौंमा रहेको कार्यालयमा दर्ता भैसक्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २८ गते विहान ११ बजे खोलिने कार्यक्रम समेत तय भइसकेको छ ।