काठमाडौं । बेलायती शैलीको फल्स सिलिङ बजारमा उपलब्ध हुन नसक्दा केशरमहलको पुनर्निर्माणकर्ताका लागि निकै समस्याको विषय बनेको छ ।
धातुको बुट्टेदार फल्स सिलिङ राख्ने चलन राणाकालमा भित्रिएको थियो । केशरमहल पुनर्निर्माण कम्पनीले ९० प्रतिशत पुरानो फल्स सिलिङ काम लाग्ने र १० प्रतिशत नयाँ व्यवस्थापन गर्नुपर्ने अनुमान गरेको थियो । ठेकेदार कम्पनी जेडसीजीआई–खानी जेभीका परियोजना व्यवस्थापक नरकान्त सापकोटाले केशरमहलमा प्रयोग भएका फल्स सिलिङ मुस्किलले १० प्रतिशतमात्र पुनः प्रयोगमा आउन सक्ने बताउँदै भने, “बाहिरबाट हेर्दा नयाँजस्तो देखिए पनि भित्र खियाले काम नलाग्ने अवस्थामा पुगेका रहेछन् । ती प्रयोग गर्न सकिँदैन ।”
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरले दरबार निर्माण गर्दा बेलायतबाट ती फल्स सिलिङ झिकाएका थिए । रसायन प्रयोग भएकाले फल्स सिलिङका पाता रङ्गाइएकोतर्फ हेर्दा भर्खरै बनाइएकोजस्तो देखिए पनि अर्कोतर्फ खियाले काम नलाग्ने अवस्थामा पुर्याइदिइसकेको छ । कतिपय पातामा प्वाल पनि परिसकेको छ। सबै पातामा खिया लागिसकेको छ । पातालाई रसायन उपचार गर्न खोजिए पनि सो सफल हुन नसकेको उनले बताए ।
पुनर्निर्माण कम्पनीले नेपाली कालीगढलाई हातले कुँदेर त्यस्ता पाताका नमुना तयार गर्न लगाएको थियो तर प्रयास गर्दा खासै स्तरीय पाता तयार गर्न सकेनन् ।
एउटा कोठामा रहेको फल्स सिलिङको बुट्टा अर्को कोठासँग मिल्दैन। एउटै कोठामा पनि कम्तीमा तीनथरीका बुट्टा प्रयोगमा रहेको देखिन्छ ।
परियोजना व्यवस्थापक सापकोटाका अनुसार पुरानो दरबार भएकाले अचेल बजारमा पाइने आधुनिक फल्स सिलिङ प्रयोग गर्न नमिल्ने भएका छन् । केशरमहलको पुनर्निर्माणका लागि ५६ करोड रुपियाँ खर्चिंदै छ। आगामी मङ्सिर २८ गतेसम्म निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गरिसक्नुपर्नेछ।