डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र

१५ फाल्गुण २०८०

cover image

लमजुङ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर छ दशमलव पाँच किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । तनहुँ डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाएको र सोमध्ये हालसम्म उक्त किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको डुम्रे–बेँसी–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी इञ्जिनियर किरण पोखरेलले बताए । 

उनका अनुसार ‘अस्फाल्ट’ किसिमको कालोपत्र भइरहेको छ । हालसम्म पाइप कल्भर्ट, स्याल्भ कल्भर्टको काम, सडक चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम सम्पन्न भएको छ । सो सडकमा च्याम्बास बजारमा रहेको घरनिर र डुम्रे बजारको पुल नजिकैको भागमा नाली बनाउने काम भइरहेको उहाँको भनाइ छ । केही समय कालोपत्रको लागि सामग्री अभाव भएर रोकिए पनि केही दिनअघिदेखि कालोपत्रको काम सुरु भइरहेको र तीव्र रुपमा अघि बढ्ने डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार कालोपत्र गर्न बाँकी रहेको अधिकांश भागमा पनि तह मिलाउने कार्य सम्पन्न भएको छ । तनहुँको डुम्रे बजारबाट लमजुङतर्फ निर्माणाधीन यस सडक राजमार्गको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५÷१५ मिटरको हुने भएको छ । त्यस्तै, १०÷१० मिटरको लगतकट्टा भइसकेको छ । अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बनिरहेको उक्त कार्यालयले जनाएको छ । यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा सात मिटरको हुनेछ । 

त्यस्तै, दायाँबायाँ एक÷एक मिटरको ‘सोल्जर’ तथा एक÷एक मिटरको नाली निर्माण भएको छ । उक्त कार्यालयका अनुसार यस सडकको सो काम विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले विसं २०७७ वैशाख २२ गते सम्झौता गरेको थियो । तर निर्धारित समयमा काम सम्पन्न हुन सकेन । पुनः म्याद थप गर्दै आगामी असार मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्ने  इञ्जीनीयर पोखरेलले बताए ।

च्याम्बारका घरका विवाद र सडकमा पर्ने बिजुलीका पोलका कारणले समेत निर्माणमा ढिलाइ भए पनि यतिबेला सबै समस्याको समाधान भएको बताइएको छ । कालोपत्र सकिएपछि रोड फर्निचर (पेन्टिङ) गर्ने र किलोमिटर पोस्ट राखिने बताइएको छ । डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दुरीमा रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङको सिमाना पाउदी बजारसम्म २४ किलोमिटरको छ । सडकका लागि भ्याट बाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकोमा उक्त जेभीले रु ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको कार्यालयले जनाएको छ  । 

छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको बेँसीसहरसम्मको ४२ किलोमिटर सडकको काम सक्न  करिब साढे एक दशक लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि एक लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे बेँसीसहरको सडक हुँदै हिमाली जिल्ला मनाङका स्थानीयवासी समेत आवतजावत गर्दछन् ।

सडक दुई लेन भई कालोपत्र सम्पन्न भएपश्चात् तीन जिल्लाका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यात्रा थप सहज हुनुका साथै समय समेत घट्नेछ । उक्त स्थानमा मात्र नभई डुम्रेदेखि बेँसीसहरसम्ममै दुई लेनको सडक निर्माण गरेर कालोपत्र गरेमा यात्रा झनै सहज हुने स्थानीयवासीको भनाइ छ । 

लमजुङका स्थानीयवासी यातायातको सुविधा नहुँदा डुम्रेसम्म हिँडेरै खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री ल्याउनेसमेत गर्दथे । त्यस्तै, काठमाडौं, पोखरा जानुपर्दा यहाँका स्थानीयवासी हिँडेरै डुम्रे बजारसम्म पुग्ने गरेको थिए । उक्त बाध्यता हटेपनि अझै यात्रा भने सहज हुनसकेको छैन । अहिले सडक ट्र्याक खुलेर एक लेनबाट पनि दुई लेन हुँदैछ ।    

Image

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायतका अधिकारीलाई आयोजना स्थल नछा...

Image

उनका अनुसार पुरानै क्षेत्रमा ढलको विस्तार र व्यवस्थापन हुन्छ । नयाँ ढल राख्ने वा थप्ने योजना छैन । ख...

Image

पूर्वी खण्डमा २१ वटा पुल रहेका छन् भने एक सय ३५ वटा कल्भर्ट बन्ने छन् । ‘पाइल फाउन्डेसन’ विधिबाट केर...

Image

बेलिब्रिज निर्माणका लागि आवश्यकपर्ने पाता सबै जडान भइरहेको आयोजनाका प्रमुख सुनील रञ्जितकारले बताए । ...

Image

सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो पालिकाले अघिल्लो वर्षमा गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याए...

Image

सुर्खेत ।  भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा ब...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४