शीर्षकहरू

चीनमा ग्यास खपत एक वर्षमै ७.६ प्रतिशत वृद्धि

चीनमा ग्यास खपत एक वर्षमै ७.६ प्रतिशत वृद्धि

एजेन्सी । उदयीमान आर्थिक महाशक्ति चीनमा ग्यास खपत एक वर्षमै ७.६ प्रतिशतले बढेको छ । आर्थिक हैसियत सँगसँगै विश्वकै शीर्ष प्रदूषक मुलुक बनिसकेको चीनले ऊर्जा प्रयोजनमा जैविक इन्धन ग्यास खपत बढाएको हो ।

विश्वका ३० प्रतिशत जनसंख्याको बसोबास रहेको चीनले सन् २०२३ मा १ करोड ४० लाख टन कार्बनडाइअक्साइड उत्सर्जन गरेको थियो । दोस्रो स्थानमा रहेको अमेरिकाले ६० लाख र भारतले ३५ लाख टन हरितगृह ग्यास उत्सर्जन गरेका थिए ।

अमेरिका र भारत लगायत झण्डै १० प्रदूषक मुलुकले भन्दा चीन एक्लैले उत्सर्जन गरेको कार्बनडाइअक्साइड ग्यासको मात्रा बढी हो । मुख्यतः प्रदूषक इन्धनको अधिक प्रयोगमार्फत नै चीनले अत्यधिक कार्बन उत्सर्जन गर्ने गरेको छ ।

विश्वको पर्यावरणमै गम्भीर क्षति पुग्नेगरी प्रदूषक इन्धनको प्रयोग र त्यसैबाट आर्थिक हैसियत शीर्ष स्थानमा पुर्‍याउने प्रयास गरिरहेको चीन जलवायु परिवर्तन मामिलामा गम्भीर आलोचित छ । आलोचना बढ्दै गएपछि चीनले सन्‌ २०२५ सम्म कार्बन उत्सर्जन १८ प्रतिशतले घटाउने र सन्‌ २०३० भित्र उत्सर्जन शिखरमा पुग्ने लक्ष्य राखेको छ । सन्‌ २०६० सम्म भने कार्बन न्युट्रलमा पुग्ने चीनको लक्ष्य छ ।

यस्तो लक्ष्य राखेको चीनले पछिल्लो समय हरित विकासमा जोड दिन खोजिरहेको छ । तर, गत वर्ष ग्यासजस्तो प्रदूषक इन्धन खपतमा भएको वृद्धिले चीनलाई शीर्ष प्रदूषक मुलुकको हैसियतबाट तल झर्न मुस्किल पारिदिएको छ ।

त्यहाँको राष्ट्रिय विकास तथा सुधार आयोगका अनुसार गत वर्ष चीनमा प्राकृतिक ग्यासको खपत ७.६ प्रतिशतले बढेर तीन खर्ब ९४ अर्ब ५३ करोड घनमिटर पुगेको छ । सन् २०२३ को डिसेम्बरमा प्राकृतिक ग्यासको खपत सन् २०२२ को सोही अवधिको तुलनामा ९.५ प्रतिशतले वृद्धि भई ३७ अर्ब ६५ करोड घनमिटर पुगेको छ ।

चीनले सन् २०२३ मा २२९.७ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको छ, जुन सन् २०२२ को तुलनामा ५.८ प्रतिशतले बढी हो ।