शीर्षकहरू

ब्रिटिस कलेजका विद्यार्थीद्वारा उद्यमशीलता सम्मेलनमा उत्कृष्ट नतिजा हासिल

ब्रिटिस कलेजका विद्यार्थीद्वारा उद्यमशीलता सम्मेलनमा उत्कृष्ट नतिजा हासिल

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरूले भारतमा भएको ‘राष्ट्रिय उद्यमशीलता सम्मेलन (एनईसी) २.०’ मा उत्कृष्ट नतिजा हासिल गरेका छन् । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा अध्ययनरत दुई विद्यार्थीहरू तरुण अग्रवाल र सचेत रोयले एनईसी २.० मा उत्कृष्ट स्थान हासिल गरेका हुन् ।

गत जनावरी २६ देखि २८ सम्म भारतको केरेलास्थित पालक्कडमा लिड कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित ‘व्यवसाय योजना प्रतियोगिता र मेगा पिच फेस्टिभल’ मा नेपाली विद्यार्थीहरूले उत्कृष्ट स्थान हासिल गरेका हुन् । प्रतियोगितामा १५० वटा टिमको सहभागिता रहेको थियो । टीबीसीका विद्यार्थीहरू प्रविधि क्षेत्रको स्टार्टअपमा शीर्ष पाँच भित्र परेका हुन् भने आईडियसनको चरणको योजनाहरूमा पहिलो स्थान हासिल गरे । यो असाधारण उपलब्धिसँगै सहभागी विद्यार्थीहरूले प्रमाणपत्र तथा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् ।

सफलतापछि प्रतिक्रिया दिँदै सहभागी विद्यार्थी अग्रवालले भने, ‘प्रतियोगितामा अवधारणा प्रदर्शन गर्न हामीले विजेनेश र कम्प्युटिङका सहपाठीहरू सँगै काम गर्ने मौका पायौँ । यसको लागि टीबीसी इक्युबेशन सेन्टरका प्रमुख सुबोध रुपाखेती सरले अमूल्य सहयोग प्रदान गर्नुभयो । उहाँको सहयोगले हामीले ग्लोबल प्रतिस्पर्धामा राम्रो स्थान हासिल गर्‍यौँ ।’

प्रतिस्पर्धासँगै विद्यार्थीहरूले उद्योगपतिहरू, आफू सरहका उद्यमी लगायतसँग छलफल गर्ने, नेटवर्किङ विस्तार गर्ने तथा विभिन्न स्थानहरूको भ्रमण गर्ने अवसर समेत प्राप्त गरेका छन् ।