शीर्षकहरू

बनाऊँ भरतपुरको अलपत्र रङ्गशाला, अब 'कन्ट्रोल+जेड' सम्भव छैन

बनाऊँ भरतपुरको अलपत्र रङ्गशाला, अब 'कन्ट्रोल+जेड' सम्भव छैन

  • नवीन अधिकारी 

'फलाम तातेकै बेला घन ठोक्नुपर्छ' नेपाली समाजमा प्रचलित यो भनाइमा रहेको अनुभवजन्य ज्ञानलाई सरलीकृत गर्ने हो भने यसरी भन्न सकिन्छ - कुनै पनि विषय र प्रसङ्गको सान्दर्भिकता कुनै विशेष कालखण्डमा धेरै हुने र त्यही विषयले अर्को समयमा खासै महत्त्व नपाउने हुने गर्छ।

'कस्लाई लाटो छ भनेर भन्छन् ? जो ता बखतमा पनि चुप रहन्छन्' भन्ने हरफ लेखिएको आदिकवि भानुभक्त आचार्यको कृति प्रश्नोत्तरमाला नपढीकन पनि हामी गाउँमा हुँदा जे गर्थ्यौँ त्यो प्रसङ्ग यहाँ उल्लेख गर्नु सान्दर्भिक नै ठहर्ला।  

गाउँमा लाहुरेको घरमा भन्दा अरू सर्वसाधारणको घरमा पैसाको मुख देख्न गाह्रै हुन्थ्यो। दुहुनो भैँसी, खसी बोका, धान, पराल या भटमास बेच्दा मात्रै अलिक पैसा हात पर्थ्यो। यसरी पैसा हात परेको साँझ भात खाने बेलामा बाको फुरुङ्ग परेको अनुहारको अगाडि आ-आफ्ना मागहरू फुर्थे, हामि सबैलाई। फलानाको जस्तो पाइलट पेनदेखि विद्यार्थी भ्रमणमा दार्जिलिङ/ इलाम/ लुम्बिनीसम्म जाने कुराको माग राख्थ्यौँ हामी केटाकेटीहरू। आमाले पनि आफ्नो बुच्चो कान, घाँटीलाई आउँदै गरेको तीजसँग जोडेर मागका रुपमा गहनाको अपरिहार्यता पुष्टि गर्ने प्रयास गर्नुहुन्थ्यो।

त्यो सन्दर्भ र घटनालाई सैद्धान्तिकरण गरौँ - मान्छेले आफ्ना बिचार व्यक्त गर्ने उपयुक्त वातावरण खोज्ने रहेछन्। यदि त्यस्ता अवसरलाई बर्गिकरण गरेर हेर्ने हो भने त्यो वातावरण मुख्यतः दुई तरिकाले आउने रहेछ:

पहिलो, अवस्था बिग्रदा: यस्तो बेला आफ्नो बिचारको सुनुवाइ भएन भने अवस्था बिग्रेको भन्दै आफ्नो मानिसहरूले स्पेस खोज्ने गर्दा रहेछन्। यसको उदाहरणका रूपमा हिजोआज पूर्व राजा ज्ञानेन्द्रले गर्न खोजेको मुभमेन्टलाई लिन सकिन्छ। दोस्रो, अवस्था सप्रदा: यो भनेको वातावरण उपयुक्त भएको बेलामा आफ्ना माग मौकामा घुसाउने। यसको उदाहरणका रुपमा माथि उल्लेख गरेको गाउँको परिवारमा हुने गरेको घटनालाई लिन सकिन्छ।

यो आलेखमा उठान गर्न खोजिएको कुरा पनि यही मौकामा चौका किन नहान्ने भन्ने विषय नै हो। र, प्रसङ्ग पनि अरू कुराको होइन त्यही चौका हान्ने खेल क्रिकेट खेल्ने खेल मैदानको हो।

अहिले नेपाली क्रिकेटले अप्रत्याशित र ऐतिहासिक विजय हासिल गरेको बेलामा यसअघि कहिल्यै खेलकुद या क्रिकेट मन नपराउने मान्छे पनि यसप्रति आकर्षित भएको देखिएको छ । यही मौकामा आफ्नो गुनासो सुनाउन सुन्तलीले पनि धुर्मुसको भिडियो हालिन्। उनको पक्कै पनि मनोवैज्ञानिक आशय होला  "सायद हामीलाई सफल हुन दिएको भए आज भव्य रङ्गशालामा खेल खेलाइन्थ्यो। विदेशी क्यामेराले रुखका टुप्पोमा बसेका दर्शकका दृश्य खिच्ने थिएनन्।"

हाम्रो सामाजिक बानी र अभ्यास कस्तो छ भने राम्रा कुरा झट्टै बिर्सन्छौँ। त्यसैले सबै यही फुरुङ्ग भएको यहि बेलामा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डका बाउ-छोरीले पनि अलपत्र रङ्गशालाको मुद्दा उठाएर सल्टाउने तर्फ सोच्नु पर्ने देखिन्छ। त्यसो त आटौं न त भन्दा पनि यो सानोतिनो रकमको कुरा होइन। विपक्षी पनि यस्तै मौका कुरेर बसेका छन्। यहि बेला नआटौ यो भन्दा उपयुक्त माहौल फेरि आउन मुस्किल नै छ। त्यसैले आँट गर्ने हिम्मत गर्नुपर्ने देखिएको छ। 

सञ्चार जगतमा अहिले जस्तो तुरुन्तै खबर सनसनीपूर्ण बन्ने युगको विकास नहुँदै पेलेको खेल समयमा ब्राजिल विश्व प्रसिद्ध भैसकेको थियो। त्यति बेला  ब्राजिलियन धेरै नै गरिव थिए । एकातिर भोकमरी पनि चल्दै थियो भने अर्कोतिर फुटबलले खुसी पनि दिँदै थियो। त्यसै बेला प्रमाणित भैसकेको तथ्य हो मुलुकले खेलकुदमा प्रगति गर्दा भोको पेटमा पनि अनुहार प्रसन्न हुने रहेछ। 

अस्ति भर्खर हाम्रोमा देशै भरी अर्बौँको भ्युटावर बनाउने समयमा पनि देश सम्पन्न भएको त थिएन नि! तर, बने। मानिसहरू डाँडा माथि ठडिएका टावरमा चढेर अर्को डाँडो हेर्दा दङ्ग परेको हामीले देखेका छौँ। हेरिरहेका छौँ। त्यसैले पनि भरतपुरको अलपत्र रङ्गशाला बनाउने तर्फ सरकारले कदम चाल्नु पर्छ। काम थाल्नुपर्छ। आखिर केन्द्रिय सरकारले नीति तथा कार्यक्रममा समेटेर बजेट व्यवस्थापन गर्ने भन्दै कयौँ पटक आश्वासन दिइएको योजना नै हो, यो। 

तर, त्यो 'धुर्मुस-सुन्तलीको रङ्गशाला हो किन पैसा दिने' भन्ने अर्को भाष्य बढी प्रचार गरियो र त्यसैलाई सत्यका रुपमा स्थापित गराइयो। त्यसै बेला उता धुर्मुस-सुन्तलीले एकातिर उधारो तिर्न नसक्ने र अर्कोतिर सहयोगी हातहरूलाई 'अब सहयोग नगरौँ ' भन्दै सो परियोजना विरुद्धमा मानिसहरूलाई भड्काउने काम भयो।

उता भरतपुर महानगर पालिकाले त्यसको स्वामित्व लिने गरी इच्छा प्रकट गरिसकेको अवस्था छ। स्वाभाविक रुपमा महानगरले धुर्मुस-सुन्तलीले काम गर्दा सम्म भएको खर्चको, तिर्नुपर्ने दायित्वको हरहिसाब लिनुपर्छ। त्यसको लागि मूल्याङ्कन समिति पनि गठन भएको कुरा सार्वजनिक भैसकेको छ। धुर्मुसले नै बताए अनुसार उनको फाउन्डेसनले अडिट रिपोर्ट र सबै प्रतिवेदन बुझाइ सकेको छ। सरकारले सहरी विकाश मन्त्रालयबाट समेत कर्मचारी पठाएर हेर्ने काम अघिल्लो वर्षको माघमा नै सम्पन्न गरेर प्रतिवेदन महानगरलाई दिइसकेको अवस्था छ। 

तर, ती कुनै रिपोर्ट सार्वजनिक भने भएनन्। सुन्नमा आए अनुसार भरतपुर महानगरले युवा तथा खेलकुद मन्त्रालयमा ती रिपोर्ट पठायो। त्यहाँ पनि यसबारे अध्ययन गर्न अर्को समिति बन्यो। तर, एक महिनामा रिपोर्ट बुझाउनु पर्ने सो समितिले साढे ५ महिना पछि 'यो परियोजनासँग नेपाल सरकारको कुनै सम्बन्ध छैन' भन्ने रिपोर्ट बुझायो।

तर, धुर्मुसले आस मारेनन्। त्यसबिच धुर्मुसको दैनिकी भने हरेक दिन सिंहदरबार धाउने नै बन्यो। सिंहदरबार नकारात्मक बनेपछि उनी भरतपुर महानगरमा नै ताकेता गर्न थाले। महानगरले यो कुरा केन्द्र सरकारले नै टुङ्ग्याउने हो भन्ने कुरा गर्‍यो। त्यसपछि केन्द्र सरकारले फेरी अर्को समिति बनायो किनकि १८ करोड उधारो तिर्न महानगरले सक्ने अवस्था रहेन। अन्ततः गएको दसैँ लगत्तै सो समितिले रिपोर्ट त बुझायो तर निर्णय गर्नुपर्ने बुँदा भने त्यसमा राखेन। फलतः, मन्त्रिपरिषद्मा रिपोर्ट पुगे पनि त्यसले अहिलेसम्म केही निर्णय गर्न सकेन। जुन निर्णय गर्ने अहिले चाही सही समय हो। 

अर्कोतिर कृषि क्याम्पसको सम्पत्ति, फेरि कृषि मै प्रयोग हुनुपर्छ भन्ने जस्ता अव्यवहारिक आकाशका "तारा" तर्क गर्नु अगाडी जो कहिले त्यहाँको वर्तमान भौतिक संरचना हेरे हुन्छ। अहिले नै पनि ५ हजार दर्शक प्याराफिटमा बसेर खेल हेर्न मिल्ने अवस्थामा छ, भरतपुरको स्टेडियम। मात्र पिच बनाउन बाँकी छ।  काम गर्ने हो भने अबको तीन महिनामा त्यहाँ जुनसुकै स्तरको अन्तर्राष्ट्रिय खेल खेलाउन सक्ने अवस्था छ। त्यहाँ अभ्यास खेल खेल्ने, अभ्यास गर्ने स्थान समेत छ जुन कीर्तिपुरको खेल मैदानमा छैन। तर, कम्प्युटरमा  बनाएको संरचना जसरी कन्ट्रोल + जेड (Control + zzzzzz) हान्दै गएर अन्तमा पहिला कै कृषि क्याम्पसको खाली बनाउन सम्भव छैन त्यहाँ। त्यसैले पछाडि फर्कन सकिँदैन भने अगाडि बढ्नुको विकल्प पनि रहँदैन।