शीर्षकहरू

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीव्र, यी हुन् घुम्‍नैपर्ने ठाउँ

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीव्र, यी हुन् घुम्‍नैपर्ने ठाउँ

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को तयारी तीव्र पारिएको छ । भ्रमण वर्षको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा अहिले ल्याण्ड फिलिङ गरी दुबो लगाउने काम भइरहेको छ । किनारमा सरसफाइको थप आकर्षक बनाउन सरसफाइ पनि गरिएको छ । भ्रमण वर्षलाई लक्षित गर्दै पुलचोक गोन्द्राङ ६ लेन सडकको निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाइएको छ । 

निर्माण कम्पनीले एक पत्रे कालोपत्रे सम्पन्न हुने गरी कार्यलाई युद्धस्तरमा काम गरिरहेको छ । भ्रमण वर्षमा भरतपुर आउने पाहुनालाई स्वागत गर्न विभिन्न ५ वटा पोइन्टमा स्वागतद्धारा निर्माण गर्न लागिएको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिए । यस्तै उद्घाटन समारोहका लागि आकर्षक स्टेज निर्माण गरिने महानगरले जनाएको छ ।

फागुन १८ गते अर्थात् कार्यक्रम उद्घाटन हुने दिन करिब ५० हजार जना नारायणी किनारमा ल्याउने तयारी गरिएको छ । कार्यक्रमको प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु हुनेछ । विभिन्न जात जाति, संस्कृत, भेषभुषा, बाजा गाजासहितको र्‍याली पनि निकाल्ने कार्यक्रम तय भएको छ । यसका लागि वडागत रूपमा पत्राचार पनि गरिएको छ । सबैभन्दा बढी सहभागी ल्याउने वडालाई पुरस्कारको पनि व्यवस्था गरिएको छ । भरतपुरका २९ वटा वडामा सरसफाइ तथा वृक्षारोपणका लागि पत्राचार पनि गरिएको छ ।

यसअघि भ्रमण वर्ष सफल बनाउन मूल समितिसहित २९ वटा उपसमितिहरू गठन गरिएको छ । भरतपुर भ्रमण वर्षमा आउने पर्यटकको मुख्य रोजाई चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, हात्ती सफारी, जिप सफारी, डुङ्गा सफारी, प्याराग्लाइडिङ, धार्मिक स्थलमा पूजापाठ हुने अनुमान गरिएको छ । यसका लागि सम्बन्धी ठाउँमा पूर्वाधारहरू तयार पारिएको छ ।

भ्रमण वर्षमा जंगल सफारी जाँदा बाघ र गैँडा देख्न नसकेका पर्यटकलाई भरतपुर ६ को देव नगरमा ओपन जु अर्थात् बाघ र गैँडालाई प्रत्यक्ष अवलोकन गर्न मिल्ने व्यवस्था मिलाइएको छ । यस्तै भरतपुरको आँपटारीमा रहेको शीतकालिन दरबार दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला गर्न लागिएको छ । दरबारको स्तरोन्नति गर्न बोलपत्र आह्वान भई फागुनको पहिलो साताभित्र काम सक्ने लक्ष्यका साथ काम अघि बढेको छ ।

भ्रमण वर्षमा राप्ती र नारायणीको तटिय क्षेत्रमा बास बस्न मन पराउने पर्यटकका लागि नयाँ १०० वटा भन्दा बढी होमस्टेहरू सञ्चालनमा आइसकेका छन् । भ्रमण वर्षलाई थप मनोरञ्जनात्मक बनाउन निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना हुने छन् । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिने महानगरले जनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा भरतपुरतर्फ ध्यान केन्द्रित गराउन नेपाल सरकारको मन्त्रिपरिषद्को एउटा बैठक भरतपुरमा बसाउन पहल भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले बताइन् ।