शीर्षकहरू

भारतमा पुन: किसान विद्रोह हुँदै, हरियाणामा इन्टरनेट नै बन्द

भारतमा पुन: किसान विद्रोह हुँदै, हरियाणामा इन्टरनेट नै बन्द

एजेन्सी । भारतमा पुनः किसान आन्दोलन चर्किएको छ । हरियाणाका किसानहरू कृषि उपजको न्यूनतम समर्थन मूल्य माग्दै हरियाणाका किसानहरू दिल्ली घेर्न जान लागेपछि त्यहाँ नरेन्द्र मोदीको सरकारले इन्टरनेट सेवा नै बन्द गरिदिएको छ ।

कृषिमा निजी लगानी विस्तार र सत्ता संरक्षित व्यापारी तथा बहुराष्ट्रिय कम्पनीलाई मुनाफा कुम्ल्याउन दिनेगरी ल्याइएका तीन कानुन तत्काल खारेज गर्न माग राख्दै भारतका किसानहरूले सन्‌ २०२२ अगष्टदेखि विशाल आन्दोलन छेडेका थिए । कृषि औजार र उपकरणसहित दिल्लीलाई चारैतर्फबाट घेरेका किसानहरूलाई मोदी सरकारले सैनिक परिचालन गरी बर्बरतापूर्वक दबाएको थियो ।

त्यतिखेर भारतले निकै रक्तपातपूर्ण किसान विद्रोह भोगेको थियो । त्यसको ४ वर्ष नबित्दै न्यूनतम समर्थन मूल्यकै मामिलालाई लिएर झारखण्डका किसानहरूले ‘दिल्ली कूच’ अभियान शुरू गरेका छन्‌ ।

विश्वले दलाल पूँजीवादी सत्ताको चरित्र देख्नेगरी राजधानी क्षेत्रमा ४ वर्ष अघिकै अवस्था निम्तिन नदिन मोदी सरकारले आन्दोलनको आधार क्षेत्र अर्थात्‌ ग्रामीण इलाकाहरूमै किसानमाथि दमन थालेको छ ।

हरियाणाका किसानहरूले पर्सी (फेब्रुअरी १३ मा) आन्दोलनका लागि दिल्ली जाने कार्यक्रम तय गरिसकेका छन्‌ । किसान बाहुल्य हरियाणामा ‘दिल्ली कूच’ नाराले स्थिति तताएको छ । यो नाराले किसानहरूमा दिल्ली घेर्ने उद्वेलन पैदा गरिरहँदा हरियाणा पुलिसले एड्भाइजरी नै जारी गरेको छ भने सरकारले राज्यका सात जिल्लामा इन्टरनेट सेवामा रोक लगाएको छ ।


सन्‌ २०२० मा दिल्लीमा भएको विद्रोहमा मारिएका किसानको शव । तस्वीर : बीबीसी

न्यूनजम समर्थन मूल्य र कृषि कर्जा मिनाह लगायत माग राखी पञ्‍चाब र हरियाणाका किसान संगठनहरूले ‘दिल्ली जाऊँ’ नारा दिएका हुन्‌ । भारतको किसान आन्दोलन इतिहासमा पञ्‍जाबी किसानहरू निकै खतरनाक मानिन्छन्‌ । पञ्जाब र हरियाणाका किसान एकजुट भई गर्न लागेको आन्दोलन ४ वर्ष अघिको भन्दा पनि थप भयानक बन्नसक्ने देखिएको छ ।

हरियाणा पुलिसले पञ्जाबतर्फको सडकमा सवारी प्रभावित हुनसक्ने देखिएकाले अत्यावश्यक परेमात्रै सो बाटोबाट यात्रा गर्न भनेको छ । पञ्‍जाबको गृह मन्त्रालयले हरियाणाका सात जिल्लामा आज बिहानदेखि १३ फेब्रुअरीसम्म मोबाइलमा इन्टरनेट बन्द हुने जनाएको छ । अफवाह रोक्नका लागि अम्बाला, कुरुक्षेत्र, कैथल, जिन्द, हिसार, फतेहावाद र सिरसामा इन्टरनेट बन्द गर्ने निर्णय गरिएको त्यहाँको सरकारले दाबी गरेको छ ।

पञ्‍जाब किसान मजदूर संघर्ष समितिका महासचिव सरवन सिंह पन्धेरले फेब्रुअरी १२ को बेलुकी पाँच बजे चण्डीगढम केन्द्रीय मन्त्री अर्जुन मुन्डा, पीयूष गोयल र नित्यानन्द रायसँग बैठक गरी किसान संगठनका मागबारे छलफल हुने बताएका छन्‌ । उनले भनेका छन्‌, ‘हामी वार्ता र आन्दोलन दुबैबाट पछि हट्दैनौं ।’

दिल्ली र हरियाणाको बीचमा रहेको सिंघू और टिकरी बोर्डर इलामामा पनि सुरक्षा बढाइएको छ । दिल्ली पुलिसले गाजीपुर बोर्डरमा ब्यारिकेड लगाउन थालेको छ ।