शीर्षकहरू

बैंकिङ क्षेत्रका तीन अहम् प्रश्न : भ्रम, समस्या र समाधान

बैंकिङ क्षेत्रका तीन अहम् प्रश्न : भ्रम, समस्या र समाधान

-महेशराज जोशी     

नेपालको बैंकिंङ क्षेत्रले भोगिरहेका अनेक समस्या छन् । कुनै संरचनागत छन् त कुनै अर्थ राजनीतिसँग जोडिएका ! तर, अर्को फरक खालको समस्या पनि छ; जसले बैंकले के कारणले कस्तो काम गर्छ ? भन्ने कुरा आम सेवाग्राहीको जानकारीमा नहुँदा उत्पन्न हुने गरेको छ ।

त्यो त्यस्तो समस्या हो जसलाई वित्तीय साक्षरता मार्फत कम गर्न सकिन्छ । तर, त्यो हुन नसक्दा आम नागरिकलाई बैंक बिरुद्ध उक्साउने र भ्रम छर्ने तत्त्वले अवसर पाइरहेका छन् ।

यहाँ त्यस्ता तीन आम जिज्ञासाबारे चर्चा गरिएको छ जुन प्रायजसो बैंकप्रति गुनासो गर्नेहरूले राख्ने गरेका छन् । पहिलो,  ऋणीले बैंकको ब्याज बुझाउन नसक्दा बैंकहरू घरजग्गा लिलाममा किन जान्छन् ? के त्यो रोक्न सकिँदैन ? दोस्रो, ब्याजदर किन परिवर्तन हुन्छ ? कर्जा लैजाँदा र ब्याज बुझाउँदा किन फरक पर्दछ ? र, तेस्रो, नेपालका बैंकहरूको निष्क्रिय कर्जा किन बढ्दैछ ? कर्जा लगेपछि समयमा किन ब्याज तथा साँवा फिर्ता/चुक्ता हुँदैन ?

यी त्यस्ता सवालहरू हुन् जसको जवाफ सरल छ तर त्यसरी सरोकारवालाले बुझेका छैनन् । बुझाउने प्रयास पनि घनिभूत रूपमा भएको छैन ।

धितो लिलामी किन हुन्छ ?

कुनै पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो रकम वा नाफाबाट कर्जा प्रवाह गर्ने होइन । कुनै व्यक्ति तथा संस्थाहरूले कुनै पेसा तथा व्यवसाय गरी आर्जन गरेको निश्चित रकम सुरक्षाको प्रत्याभूति तथा ब्याज प्राप्त गर्ने उद्देश्यले बैंकमा बचत गरेको हुन्छ । सोही बचतकर्ताको रकम कुनै निश्चित उद्देश्यको लागि बैंकले तोकेको ब्याज दिने सर्तमा पैसा आवश्यक  भएको अर्को व्यक्तिलाई तिर्न सक्ने क्षमता विश्लेषण गरी प्रदान गरिएको हुन्छ ।

बचतकर्ताको निक्षेप सुरक्षित राखी निजले मागेको बेला फिर्ता गर्नु बैंकको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी हुन्छ । सो जिम्मेवारी पुरा गराउन उक्त रकम ऋणको रूपमा लगेको व्यक्तिले नियतवश तथा कुनै नियतिले फिर्ता नगरेमा के गर्ने भन्ने कुरा पनि ध्यानमा राखिएको हुन्छ । सो व्यवस्था अनुसार बचतकर्ताको रकम असुल गर्न नियामक निकाय नेपाल राष्ट्र बैंकले तोकेको नियमानुसारको धितो बैंकहरूले उक्त कर्जा रहुन्जेलसम्मको लागि बैंकको नाममा रोक्का राखेका हुन्छन् ।

यदि ऋणी स्वयम्ले तमसुक गरी आफूले निश्चित समयमा तिर्छु तिर्न नसकेमा धितो लिलाम गरी बचतकर्ताको रकम फिर्ता गर्नु भनेर लगेको रकम तिर्न छोडेमा बैंकले विकल्पको खोजी गर्छन् । बचतकर्ताको  रकम फिर्ता गर्नको लागि विभिन्न समयमा ताकेता गर्दा समेत नतिरेमा उक्त रोक्का राखिएको धितो लिलाम गर्न सकिन्छ । यो प्रक्रियामा सो सम्पत्ति किन्न चाहने व्यक्ति मध्येबाट अधिकतम मूल्य प्रदान गर्ने व्यक्तिलाई लिलाम गरी उक्त ऋणीले बैंकलाई भुक्तान गर्नुपर्ने ऋण तथा ब्याज राफसाफ गरी बाँकी रकम सोही ऋणीकै खातामा छोडिदिने गर्दछ ।

ऋणीले जस्तो बैंकले बचतकर्तालाई निश्चित समयमा दिन्छु भनेको ब्याज अहिले दिन सक्दिन वा बचतकर्ताले आफ्नो बचत मागेको बेला फिर्ता दिन सक्दिन भन्न किमार्थ पाउँदैन । त्यस अर्थमा ऋणीले बैंकको ब्याज बुझाउन नसक्दा बैंकहरू घरजग्गा लिलाम गर्छन् र त्यो रोक्न सकिँदैन ।

ब्याजदर परिवर्तनको करण के हो ?

कर्जा लिन बैंकमा आएको ग्राहक सबै भन्दा ईमान्दार र सरल देखिन्छन् । कतिपय अवस्थामा ब्याजदर परिवर्तनको बारे बताउन खोज्दा समेत ग्राहक अग्रसर भएर भन्छन्, ‘त्यो त स्वाभाविक हो नि हिजो किनेको चिनीको मूल्य त आज फरक हुन्छ ब्याजदर त भइराख्ला नि जसरी पनि तिर्ने हो ।‘

तर, कतिपय कर्जाको ब्याज ब्याज बुझाउने समयमा भने ग्राहकले सबै कुरा बिर्सेर ब्याजदर किन बढ्यो भन्ने प्रश्न गर्ने गर्दछन् । हाल पुँजी कर्जा र निक्षेपको अनुपात ९० प्रतिशत रहेको छ । यसको अर्थ बैंकसंग १ सय रुपैयाँ जम्मा भएको छ भने ९० रुपैयाँसम्म मात्र कर्जाको रूपमा प्रवाह गर्न पाउँछन् ।

कर्जाको ब्याजदर निर्धारण मुख्यतया हरेक महिनाको आधार दरमा निर्भर रहन्छ । आधार दरको महत्त्वपूर्ण तत्त्व कोषको लागत हो । सरल अर्थमा भन्दा बचतकर्ताको ब्याजदर बढेमा आधार दर बढ्ने गर्दछ भने घटेमा घट्ने गर्दछ । हाल स्प्रेड रेट ४ प्रतिशत रहेको छ । सरल अर्थमा भन्दा बचतकर्ताको ब्याजदर र कर्जाको ब्याजदरको अनुपात बढीमा ४ प्रतिशत रहेको हुन्छ ।

यस अर्थमा लगानीयोग्य रकम संकलन गर्न समेत बचतकर्ताको ब्याजदरलाई सम्मान गर्नुपर्ने हुन्छ । त्यस कारण बचतकर्ताको ब्याजदर बढ्दा कर्जाको ब्याजदर बढेको देखिन्छ । बैंकको लागि बचतकर्ता र कर्जा ग्राहक उत्तिकै महत्त्वपूर्ण भएकोले दुवैको उचित सम्मान र व्यवस्थापन अपरिहार्य हुन्छ । बैंकहरूले स्थिर ब्याजदर तथा बढ्दा बढ्ने घट्दा घट्ने चलायमान ब्याजदरको विकल्प  रोज्ने भएकाले समेत कर्जा लिँदा सो सम्बन्धी सम्पूर्ण जानकारी लिनु महत्त्वपूर्ण हुन्छ ।  किनकि स्थिर ब्याजदरमा पनि कर्जा लिन सकिन्छ ।

किन बढ्दै छ निष्क्रिय कर्जा ?

बैंकको लागि असल कर्जा सबैभन्दा ठुलो सम्पत्ति हो भने खराब कर्जा बैंक डुबाउने अस्त्र हो । कुनै पनि बैंकको निष्क्रिय कर्जा बढ्नुको प्रमुख कारण सुरुमा कर्जा लगानी गर्दा उक्त कर्जाको सावा तथा ब्याज तिर्न सक्ने पर्याप्त आधारहरूको सही विश्लेषण गर्न नसक्नु हो ।

हाल नेपालको बैंकिङ उद्योगमा ग्राहकहरूलाई नियतिले गर्दा वा साँच्चै समस्यामा परेर नियमित ब्याज तिर्न अप्ठेरो परिरहेको अवस्था निकै कम घटनामा मात्र देखिन्छ । देखिन्छ भने अधिकांश खराब कर्जाका ग्राहकहरूले नियतवश नै सावा ब्याज तिर्न छोडेको पनि देखिन्छ । हरेक समस्याहरूको समाधान हुन्छ तर बाहानाहरूको उपाय पनि हुँदैन । 

एक गलत कर्जा ग्राहक बैंक भित्र छिर्दा त्यसले समग्र बैंकलाई नै रोगी बनाउँदछ । सुरुमा लगानी गर्ने समय कर्जाको सावा तथा ब्याज तिर्न सक्ने पर्याप्त आधारहरूको सही विश्लेषण गर्न सक्ने बैंक अधिकारी तथा प्रबन्धक नपाउँदा समेत बैंकले भविष्यमा दुख पाउने गर्दछ ।नेपालमा कर्जा सम्बन्धी विशेष तालिममा लगानी गरी उचित तथा सक्षम बैंकर उत्पादन गर्न सक्नु आजको चुनौती र अपरिहार्यता हो । 

कर्जामा लगानी गर्दा नियामक निकाय राष्ट्र बैंकको नीति नियमको सही अनुपालना गर्न नसक्दा आजको कमसल लगानी भोलिको जोखिम तथा निष्क्रिय कर्जा बन्न जान्छ । यो सँगै व्यवसायमा देखिने मन्दी तथा कर्जाको दुरुपयोगले समेत ऋणीको प्रतिफलमा असर पर्दा कर्जा लगे पछि समयमा ब्याज तथा सावा फिर्ता÷चुक्ता हुँदैन र बैंकको निष्क्रिय कर्जा बढ्न जान्छ ।

बैंकहरूको निष्क्रिय कर्जा किन बढ्छ ?

हरेक समस्याको उचित समाधान पनि हुन्छ । अँध्यारो सुरुङको अन्त्यमा उज्यालो पनि हुन्छ । बैंकहरूको खुद नाफामा फरक पार्ने विभिन्न कारणहरू भए पनि मूल कारण कर्जामा हुन सक्ने सम्भावित क्षतिबाट सुरक्षित रहन गरिने कर्जा नोक्सानी व्यवस्था नै हो ।

सोही व्यवस्थाका कारण बैंकहरूमा प्रवेश गरेका खराब प्रवृत्तिका कर्जाहरूको अल्पकालीन समाधानको लागि कर्जा थप गरेर समेत ब्याजको असुली गर्ने र कर्जा नोक्सानी व्यवस्थाको रकम कम गराई नाफा बढाउने अभ्यासहरू समेत थिए । हाल नेपाल राष्ट्र बैंकको  पछिल्लो नीति अनुसार पौष महिनामा वर्गीकरण गरिएको कर्जा असारसम्म सोही वर्गमा राख्नुपर्ने व्यवस्थाले समेत खराब कर्जाहरूको चुक्ता गराउनु पर्ने दबाब बढेर गएको छ ।

अबको अवस्था बैंकहरूले अझ बढी खटिनुपर्ने हुन्छ । वित्तीय चेतनाको बिस्तारगरी खराब कर्जा चुक्ता गराउने कार्यनीतिहरू अविलम्ब गर्नुपर्छ । हाल घर जग्गाको मूल्य घटिरहेको र ब्याज नतिर्दा बैंकमा हर्जाना बढिरहने भएको कारण पनि सम्पत्ति बिक्री गरी समयमा खराब कर्जाहरू चुक्ता गर्नुपर्ने हुन्छ ।

खराब प्रवृत्ति भएका व्यक्ति थोरै हुन्छन् र धेरै जसो ऋणीहरू इमानदार हुने गर्दछन् । उनीहरूसँग वित्तीय चेतना पनि हुन्छ र ऋणको रकम कुनै व्यक्तिको बचत भएको ज्ञान पनि हुन्छ । त्यस्ता ऋणीले ईमान्दारितापूर्वक आफ्नो व्यवसाय गरेका हुन्छन् ।

यस्तोमा हाल देशमा देखिएको आर्थिक मन्दीले उनीहरू समस्यामा नपरुन् भन्ने उद्देश्यले बैंकहरूको ब्याजदर प्रिमियमहरू घट्नुपर्दछ । नेपालमै केही गरौँ भनेर लागिपरेका ब्यवसायीहरूलाई बैंकहरूको निशर्त साथ रहनु पर्दछ । बैंकहरूले निश्चित समयको लागि स्थिर न्यूनतम प्रिमियम दर राखी गरिखाने वर्गको हितको लागि नीतिहरू तय गर्नुपर्छ । एउटा सानो निर्णयले पनि व्यवसायहरू दिगोरूपमा बाच्न सक्छन् र समग्र बैंकिङ अवस्थामा सुधार देखिँदै जाने अपेक्षा गर्न सकिन्छ । 

 (लेखक जोशी, नेपाल बैंक लिमिटेड, महेन्द्रनगर शाखाका शाखा प्रबन्धक हुन् ।)