बैंकहरूलाई कर्जा उठाउन सकस, ऋण असुली न्यायाधिकरणमा मुद्दाको चाङ

१४ चैत्र २०८०

cover image

काठमाडौं। ऋण असुली न्यायाधिकरणमा मुद्दाको चाप बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको ऋण असुली गर्न नसकेपछि न्यायाधिकरणलाई गुहार्ने हुँदा वित्तीय संस्थामा खराब कर्जा बढेसँगै मुद्दाको चाप बढेको हो।

न्यायाधिकरणमा चालु आर्थिक वर्षको आठ महिना अवधिमा ३४२ वटा मुद्दा दर्ता भएका छन्। न्यायाधिकरणको तथ्यांक अनुसार यस अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सो संख्यामा मुद्दा दर्ता भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुद्दा ३३४ वटा थियो।

न्यायाधिकरणले चालू आर्थिक वर्षमा जम्मा २३८ वटा मुद्दा दर्ता हुने अनुमान गरेको थियो। तर, चालू आवको आठ महिनामै अनुमान भन्दा १०४ वटा बढी मुद्दा दर्ता भइसकेका छन्।

‘मुद्दाको चाप हेर्दा अझै बढ्ने देखिन्छ। हामीले चालू आर्थिक वर्षभर २३८ वटा मुद्दा दर्ता हुने अनुमान गरेका थियौँ। तर, आठ महिनामै ३४२ वटा मुद्दा दर्ता भएका छन्। बाँकी चार महिनामा दर्ता हुने मुद्दाको सम्भावना आँकलन गर्दा अनुमानभन्दा दोब्बर होला जस्तो छ’, न्यायाधिकरणका सूचना अधिकारी देवेन्द्र ढकालले आर्थिकन्युजसँग भने। 

चालू आर्थिक वर्षको आठ महिनामा दर्ता भएका मुद्दाहरू ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका हुन्। त्यसमध्ये वाणिज्य बैंकहरूको मात्रै ३०२ वटा मुद्दा रहेका छन्। यस अवधिमा १७ वटा वाणिज्य बैंकहरूले ११ अर्ब १५ करोड ८८ लाख २७ हजार २४६ रुपैयाँ बराबरको ऋण असुली गरिदिन न्यायाधिकरणलाई गुहारेका हुन्। यो तथ्यांक हेर्दा वाणिज्य बैंकहरूलाई ऋण उठाउ सकस परेको देखिन्छ।

सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार न्यायाधिकरणले बैंक तथा वित्तीय संस्थाको ऋण असुली सम्बन्धी मुद्दाहरूमा ऋणीबाट लिनुपर्ने ऋणको साँवा, व्याज बापतको रकम असुल उपर गराइदिने गर्छ। ऋण असुलीका लागि बैंक तथा वित्तीय संस्थाले दाबी रकमको ०.२५ प्रतिशत अग्रिम शुल्कबापत बुझाउनु पर्ने हुन्छ। सो ऋण असुलीपछि भने संस्थाले न्यायाधिकरणलाई असुली रकमको एक प्रतिशत शुल्क दिनु पर्ने व्यवस्था छ।

ऋण असुली समस्याको कारक ‘कमसल धितो’ 

चालू आवमा दर्ता भएका मुद्दामध्ये हालसम्म ३० वटा मुद्दाको मात्रै फैसला भएको छ। बैंक तथा वित्तीय संस्थाहरूले कमसल धितोमा ऋण प्रवाह गरेका कारण ऋण असुलीमा समस्या हुँदै आएको न्यायाधिकरणको अनुभव छ। न्यायाधिकरणका सूचना अधिकारी ढकाल भन्छन्, ‘हामी फिल्डमा मूल्यांकन गर्न जाँदा धितो नै पत्ता लगाउन सक्दैनौँ। कुन हो, कुन हो भन्ने हुन्छ। धितोको जग्गा खोज्दै जाँदा कुनै कुनै त खोलाले, पहिरोले खाइदिएको पाइन्छन्। केही राम्रै धितो भेटिए पनि धेरैजसो कमसल धितो नै पाएका छौँ।’

घरजग्गा कारोबारमा आएको मन्दी कारण पनि लिलामीका सम्पत्ति बिक्री नहुने समस्या रहेको उनले सुनाए। ढकालले भने, ‘धितोको जग्गा लिलामीका लागि तीन पटकसम्म बिक्रीमा राख्दा पनि बिक्री हुँदैन। १ प्रतिशत राजस्व लिएर बैंक तथा वित्तीय संस्थालाई नै सकार्न दिनुपर्ने हुन्छ। यसो हुँदा संस्थाहरू पैसा भन्दा पनि जग्गाजमिनको जमिनदार हुने भए। जग्गा मात्रै राखेर के गर्ने ?’ 

त्यस्तै, ऋणको लागत ठूलो हुँदै गएकोले पनि असुलीमा समस्या रहेको उनले बताए। ढकालले भने, ‘उठाउनु पर्ने ऋणको लागतको अंक ठूलो हुँदै गएको छ। तीन पटकसम्म बिक्रीका लागि राखिएको सम्पत्ति बिक्री नभएमा वादीले सकार गर्नु पर्ने कानुनी व्यवस्था अनुरुप १ प्रतिशत राजस्व दाखिला गरेर सकार गर्ने कार्यमा संस्थाहरूले उदासीन देखाएका छन्। यसले गर्दा ऋण असुलीमा समस्या रहेको छ।’

बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ र नियमावली २०५९ अनुसार न्यायाधिकरणले ऋण असुलीका कामहरू गर्दै आएको छ। २० वर्ष भन्दा पुरानो ऐनमा रहेर न्यायाधिकरण काम गर्नु परेकोले पनि कतिपय समस्या हल गर्न गाह्रो भएको छ। ‘न्यायाधिकरणले २० वर्ष भन्दा पुरानो ऐनमा रहेर काम गर्नु परिरहेको छ। विशेष ऐन कार्यान्वयनमा रहेको भएपनि समसामयिक संशोधन हुन सकेको छैन’, उनले गुनासो गरे। 

एनआइसी एशिया बैंकका सर्वाधिक मुद्दा

न्यायाधिकरणमा एनआइसी एशिया बैंकका मुद्दाको चाङ सबैभन्दा ठूलो रहेको छ। चालू आवको आठ महिनामै यस बैंकले ११३ वटा ऋण असुलीका लागि मुद्दा दायर गरेको छ। जसबाट ५ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ असुलीको माग गरिएको छ। यो बैंकले दायर गरेका मुद्दामध्ये १० वटा मात्रै फैसला भएका छन्। अन्य १०३ वटा मुद्दाको किनारा लाग्न अझै बाँकी छ।

ऋण असुलीका लागि न्यायाधिकरण गुहार्दै मुद्दा दायर गर्ने दोस्रो वाणिज्य बैंकमा एनएमबी बैंक रहेको छ। यो बैंकले चालू आवको आठ महिनामा १ अर्ब ९५ करोड ७५ लाख बिगो रकम कायम गर्दै ५५ वटा मुद्दा दायर गरेको छ। जसमा १३ वटा मात्रै मुद्दाको किनारा लागेको छ।

त्यस्तै, ग्लोबल आइएमइ बैंकले ३९ वटा मुद्दा दायर गर्दा कुमारी बैंकले २४ वटा ऋण असुलीका मुद्दा हालेको छ। यसका साथै चालू आवको फागुन मसान्तसम्ममा हिमालयनले १४, लक्ष्मी सनराइजले १३, माछापुच्छ्रे बैंक, सानिमा बैंक र नबिल बैंकले ८/८ वटा मुद्दा हालेका छन्।

राष्ट्रिय वाणिज्य बैंकले ६, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ६, सिटिजन्स बैंकले ३, नेपाल एसबिआइ बैंकले २, प्रभु बैंकले २, प्राइम कमर्शियल बैंक, नेपाल बैंक र सिद्धार्थ बैंकले १/१ वटा ऋण असुलीका लागि मुद्दा दायर गरेका छन्। 

वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशत हाराहारीसम्म

नेपालमा हाल सञ्चालित वाणिज्य बैंकहरूको खराब कर्जा अर्थात् एनपीएल करिब ५ प्रतिशतसम्म पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा वाणिज्य बैंकहरूको खराब कर्जा सरदरमा ३.६३ प्रतिशत रहेपनि केही बैंकहरूको करिब ५ प्रतिशतको हाराहारीसम्म पुगेको देखिएको हो। 

तथ्यांक अनुसार कुमारी बैंकको खराब कर्जा ४.९७ प्रतिशत पुगेको छ। यसरी खराब कर्जाको ग्राफ ४ प्रतिशत भन्दा बढी हुने वाणिज्य बैंकहरूको संख्या ९ रहेको छ। नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, कुमारी, लक्ष्मी सनराइज, ग्लोबल आइएमइ, सिटिजन्स, प्राइम कमर्शियल र प्रभु बैंकको खराब कर्जा ४ प्रतिशत माथि पुगेको छ। 

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.९५ प्रतिशत हुँदा कृषि विकास बैंकको ३.०२ रहेको छ। नबिलको ३.८० प्रतिशत रहेको छ भने अन्य वाणिज्य बैंकहरूको खराब कर्जा २ प्रतिशत भन्दा कम रहेको छ।

Image

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक भोला प्रसाद तिवारी ...

Image

धुलिखेल नगरपालिकाका विभिन्न महिला उद्यमीहरूलाई विद्युतीय सवारीको साँचो हस्तान्तरण गरिएको थियो । पर्य...

Image

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहि...

Image

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्...

Image

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आवेदन खुलेको छ । योग्यता पुगेका न...

Image

तेस्रो त्रैमासम्म लक्ष्मी सनराइज बैंकले १ अर्ब ६१ करोड ५९ लाख ३ हजार नाफा कमाउँदा प्राइम कमर्सियल बै...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४