शीर्षकहरू

महावीर पुनले चुपचाप गरे वातावरण जोगाउने काइदाको काम

महावीर पुनले चुपचाप गरे वातावरण जोगाउने काइदाको काम

काठमाडौँ । पाँच दिन अघि जुन ५ तारिकका दिन संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि वातावरण दिवस मनाइयो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वातावरण दिवसको शुभकामना व्यक्त गर्दै आ–आफ्नो ठाउँबाट यस राष्ट्रिय अभियानमा सरिक हुन सबैमा आव्हान गरे ।

वातावरण दिवसको नाममा निकै धेरै कार्यक्रमहरू भए । तारे होटल देखी सडकमा समेत अनेकौँ ढर्रा र नाटक देखाइयो, वातावरण दिवसको नाममा। प्रधानमन्त्री, वातावरण मन्त्री देखी धेरैले शुभकामना मन्तब्य जारी गरे । भाषण गरे, नारा घन्काए ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाउने परम्परालाई नेपालले पनि औपचारिक रुपमा पुरा गर्‍यो । 

प्लास्टिक प्रदूषणलाई  प्रमुखताका साथ उजागर गर्ने गरी यसबर्ष मनाइएको दिवसमा धेरै कुरा भए । प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेको अवस्थामा यसलाई कसरी विस्थापित गर्ने भन्ने विषयमा सुन्दा राम्रा तर अव्यवहारिक धेरै विकल्प बारे त्यो दिन पर्याप्त मन्थन भयो ।

तर, यो समस्याको साँच्चिकै हाल गर्ने उपायमा चुपचाप जुटेका युवाहरू भने प्लास्टिकजन्य प्रदूषणलाई कम गर्ने काममा लागि सकेका थिए, महावीर पुनको नेतृत्वमा । उनीहरूले फोहोरको रुपमा फालिएका प्लास्टिकबाट बनाएको बेन्च, टेबलहरूको भिडियो पुनले शुक्रबार सामाजिक सञ्जालमा राखेर सफलतालाई सार्वजनिक गरेका छन् ।

कसरी बन्यो फालिएको फोहोरबाट सुन्दर, आकर्षक र बलिया बेन्च, टेबुलहरू भन्ने खुलाउन उनले स्ट्याटसमा लेखेका छन्- ‘राष्ट्रिय आविष्कार केन्द्रमा भाइहरूले बजारमा फालिएका प्लास्टिकहरूलाई धुलो बनाए । त्यो धुलोलाई पेलेर प्लास्टिकका डन्डीहरू बनाए । अनि त्यो डन्डीहरूलाई प्रयोग गरेर बेन्च र टेबलहरू बनाएका छन्।‘

यसरी बनेको बेन्चको मूल्य समेत सार्वजनिक गर्दै त्यस्ता बेन्चहरू काठका बेन्च भन्दा सस्ता र बलिया हुने पनि उनले दाबी गरेका छन् । उनी लेख्छन् – ‘एउटा बेन्चको मूल्य १० हजार ५ सय रुपैंया छ । काठको यस्तै बेन्च भन्दा सस्तो पर्दो रहेछ र बलियो पनि छ ।‘

उनले अहिलेसम्म विभिन्न नगरपालिकाका पार्कहरूलाई २२ वटा यस्ता बेन्च बनाएर राष्ट्रिय आविष्कार केन्द्रले बिक्री गरिसकेको छ। उनीहरूले बेन्च, टेबल मात्र होइन प्लास्टिकका गमलाहरू पनि बनाएका छन् । यदि कसैले ती उत्पादनहरू खरिद गर्न चाहेमा मोबाइल नम्बर ९८४१५९२३६१ मा सम्पर्क गर्न सकिने पनि पुनले जानकारी दिएका छन् ।