शीर्षकहरू

आधा खर्ब खर्चेर पाकिस्तानमा चुनाव हुँदै , प्रतिभोट लागत ११७% वृद्धि

आधा खर्ब खर्चेर पाकिस्तानमा चुनाव हुँदै , प्रतिभोट लागत ११७% वृद्धि

एजेन्सी । आजदेखि शुरु भएको पाकिस्तानको आम चुनाव खर्च आधा खर्ब (झण्डै ५० अर्ब रुपी) नाघ्ने प्रक्षेपण गरिएको छ । पाकिस्तान निर्वाचन आयोगलाई त्यहाँको सरकारले केन्द्रीय र प्रादेशिक चुनाव गराउन ४२ अर्ब ५० करोड रुपी उपलब्ध गराएको छ ।

मतपत्रमा २४ करोड खर्च हुने भनिएको चुनाव खर्च सन्‌ २०१८ मा भएको आम निर्वाचनभन्दा १३३ प्रतिशत बढी हो । कूल २६६ सिटका लागि हुने चुनावमा एक सिटका लागि कम्तिमा १८ करोड रुपी खर्च हुँदैछ । सन् २०१८ मा एक सिटको चुनाव गराउन ७ करोड ७० लाख रुपी खर्च भएको थियो ।

जारी आम चुनावका लागि पाकिस्तानको निर्वाचन आयोगले १२ करोड ८५ लाख ८५ हजार ७६० मतदाता रहेको जनाएको छ । सन् २०१८ मा प्रति मतदान खर्च २८९ रुपी थियो । जारी चुनावमा सो खर्च ११७ प्रतिशतले बढेर ८३८ रुपी पुगेको जनाइएको छ ।

यस हिसाबले अघिल्लोभन्दा हाल भइरहेको चुनाव निकै महँगो हुने देखिएको छ । सम्भावित भ्रष्टाचारका अतिरिक्त आर्थिक तनाव भोगिरहेको पाकिस्तानल पछिल्ला वर्षहरूमा ब्यहोरिरहेको मुद्रास्फीति पनि चुनाव महँगो हुनुको प्रमुख कारण हो ।

 पाकिस्तानको आम निर्वाचनका लागि आज बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ ।

एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेद्वारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समय अनुसार बिहान ८ बजेदेखि शुरू भई बेलुका ५ बजेसम्म निर्बाध रूपमा जारी रहने बताए ।

मतदानबाट आगामी पाँच वर्षका लागि नयाँ सरकार गठन गर्ने संसद्को तल्लो सदनका २६५ सदस्य छान्न मतदाता बिहानै मतदान केन्द्रहरूमा पुगेको आयोगले जनाएको छ । पाकिस्तानका चार प्रान्तीय सभाको निर्वाचन आज एकै दिन भइरहेको छ ।

आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी जनता अर्थात् देशको कूल जनसङ्ख्याको आधाभन्दा बढी व्यक्ति आम निर्वाचनका लागि मतदान गर्न योग्य मानिएका छन् ।

देशभर ९० हजार ६७५  मतदान केन्द्र स्थापना गरिएको छ भने आयोग, सुरक्षाकर्मी तथा मतदाताको सहयोगमा चुनावकोे लागि सबै व्यवस्था सम्पन्न भइसकेको छ ।

कूल २६५ सीटका लागि हुने राष्ट्रिय निर्वाचनका लागि छ हजारभन्दा बढी उम्मेदवार रहेका र खैबर पख्तुनख्वा, पञ्जाब, बलुचिस्तान र सिन्धसहित चार प्रान्तका लागि ५९० वटा  सीटमा १२ हजारभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने घोषणा आयोगले गरेको छ ।