‘परनिर्भरताको सँघारमा पुगेको देश लगानी सम्मेलनको प्रोपोगान्डामा भुल्नुहुँदैन’

१२ बैशाख २०८१

cover image

- प्रा. डा. डिल्लीराज खनाल  

अहिले नेपाल पूर्ण रुपमा परनिर्भरताको सँघारमा पुगिसकेको छ । रेमिट्यान्सले अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको हुँदा यस्तो अवस्था स्वाभाविक रुपमा नै सिर्जना भएको हो । त्यसमाथि राजश्व संकलन पनि घटिरहेको छ । यी सबैले के कुरा देखाइरहेका छन् भने नेपालमा आन्तरिक स्रोतबाट लगानी हुनसक्ने सम्भावना नै छैन । परिणामतः हामी एक प्रकारको पासोमा परिसकेको स्थिति अहिले छ ।

त्यसैले हामीले एक कदम अगाडी बढ्न र हामीलाई यो दलदलबाट बाहिर निस्कन पनि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आवश्यक पर्ने देखिन्छ । त्यस बाहेक हामीले दिगो विकास लक्ष भेट्न र नेपालको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष हासिल गर्न पनि हामीलाई अहिले थप ६/७ खर्व रुपैयाँ अपुग हुने देखिन्छ ।  यो अवस्था समेतलाई दृष्टिगत गर्दा नेपाललाई ठूलो मात्रामा एफडीआई नभई नहुने देखिएको छ ।

अर्को पाटोबाट हेर्दा के देखिन्छ भने नेपालमा बैङ्किङ क्षेत्रले गर्ने लगानीको प्रवृत्ति भने विश्वका अन्य विकसित मुलुकको जस्तै छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क नै हेर्ने हो भने पनि नेपालका बैंकहरुले नेपाली अर्थतन्त्रको कुल आकारको १२७ प्रतिशत लगानी गरेको देखिन्छ । तर, हामीले नेपालको आर्थिक विकास र वृद्धि हेर्यौं भने सो लगानीको प्रभाव परेको देखिँदैन । यहाँनेर उठ्ने प्रश्न यो हो कि त्यत्रो लगानी आखिर कहाँ गयो ?

त्यस्तै, अर्को कुरा के हो भने हाम्रो सकल घरेलु पुँजी बचत पनि अत्यन्तै कम छ । त्यही समयमा राष्ट्रिय बचत र खासगरि लगानीको कुरा गर्दा अर्थशास्त्रीय भाषामा ‘कोर ग्रस फिक्सड इन्भेष्टमेन्ट (सीएनआइएस) को कुरा गर्छौँ । त्यो हेर्दा खेरि ३१/३२ प्रतिशतको सीएनआइएस, डोमेष्टीक सेभिङ ६/७ प्रतिशत छ अनि ग्रस फिक्स इन्भेष्टमेन्ट २५ प्रतिशत मान्दा अझै ६/७ प्रतिशतको स्पेस देखिन्छ । तर, हामीले आन्तरिक रुपमा ठिक ढङ्गले पुँजी परिचालन गर्न सकेका छैनौँ। त्यो हामीले भुल्नु हुँदैन । यो तथ्य बाहेक हामीले खासमा हाम्रो लगानीको क्षेत्र के हुनुपर्छ र हामीले कति लगानी कुन क्षेत्रमा गर्नु आवश्यक छ भन्ने अनुसन्धान गर्नु जरुरी छ ।  

यहाँ विदेशी लगानी किन हुन सकेन भन्ने समस्या अनि समाधानका कुरा हुँदै आएका छन् । त्यसैगरी नेपालमा विदेशी लगानी ल्याउनै हुँदैन भन्ने फरक किसिमका विचारहरू पनि छन् । तर पनि प्रभावको हिसाबले भन्दा बढी हामीले प्रविधि भित्राउने हिसाबले सोच्नुपर्ने हुन्छ ।

विदेशी लगानी मार्फत हामीले प्रतिस्पर्धात्मक क्षमता बढाउने हो । नेपालको निर्यात बढाउन लगानी गर्ने हो । पूर्वाधार विकास गर्ने हो ।  धेरै देशको अनुभव हेर्दा के देखिन्छ भने एउटा निश्चित क्षेत्रमा जस्तै पूर्वाधारमा लगानी गर्दा उत्पादनमा जोड नपुगेको, मानव स्रोतको क्षमता विकास ठिक ढंगले नभएको पाउँछौ । त्यसैले आर्थिक विकासलाई सन्तुलित ढंगले अघि बढाउने हिसाबले काम गर्नु पर्ने हुन्छ । यी विषयमा ध्यान नपुगेकै कारण सन् १९९७ र २००८/९ मा वित्तीय संकट देखा परेको थियो ।

 यदि उत्पादन, पूर्वाधार र सेवा क्षेत्रमा असन्तुलन आयो भने त्यसले बिस्तारै मुलुकमा अर्को खालको संकट उत्पन्न गराउँछ । अर्को प्रकारले मुलुकमा ठूलो संकट आउँदा आन्तरिक नीतिका सुधार ल्याएर त्यसलाई हल गर्ने स्पेस समेत हुँदैन । रोजगारीमा संकट आउँछ, दिगो विकासमा समस्या खडा हुन्छ । त्यसैले कृषि र उत्पादनशील क्षेत्रमा समान ढंगले लगानी गर्नुपर्ने हुन्छ ।

यहाँ त यस्तो पनि समय आएको थियो कि कृषिमा गर्न लागिएको जथाभाबी लगानीलाई सर्वोच्च अदालतले रोक्नु परेको थियो । यसो भन्दा हामीले हेर्ने कुरा यो हो कि हालै कतिपय अध्ययनहरूले नेपालमा कतिपय क्षेत्रमा भएका वैदेशिक लगानीले यहाँको अर्थतन्त्र र रोजगारी वृद्धिमा ठोस योगदान नगरेको देखिएको छ । यसरी एफडीआईले सकारात्मक भूमिका निर्वाह गर्न नसकेको अवस्था प्रति हामी सचेत हुनु पर्छ ।

राष्ट्र बैकको तथ्याङ्क अनुसार नेपालमा हुने लगानी प्रतिवद्दताको तुलनामा जम्मा ७ प्रतिशत मात्र भित्रने गरेको छ । जति लगानी आएको छ त्यसबाट नेपालको आर्थिक वृद्धिमा के कसरी सहयोग पुगेको छ वा छैन भन्ने कसरी हेर्ने ? यदि यसको मापन गर्ने गरियो भने लगानीकर्ता र हामी दुबैलाई लाभ हुने खालको स्थिति बन्छ ।

हामीले लगानीका कारण बढेको उत्पादनलाई निर्यात गर्ने वातावरण बन्छ । हामी दिगो विकासको दिशामा अघि बढ्न सक्छौँ । हामीले सबै विकास सहयात्रीहरूले यस्तै कुराहरू गर्दै हिँडिरहेको पाउँछौ । त्यसैले हामीले एकोहोरो एफडीआई मात्र नभनेर यो क्षेत्रमा यति एफडीआई भन्न सक्नु पर्छ ।

अहिले सबैले ऊर्जाको मात्र कुरा गर्ने गरेको देखिन्छ । तर बढो सुविचारित  हिसाबले, बुद्धिमत्तापूर्ण हिसाबले हामीलाई सबभन्दा लाभ, फाइदा कसरी हुन्छ भन्ने कुराको अलिकति विचार गरेर प्रस्तावहरु अगाडी सार्नुपर्ने हुन्छ । फगत  प्रोपोगान्डको रुपमा सम्मेलन गर्‍यौँ भन्ने अनि थुप्रै प्रतिवद्दताहरु गराउने र त्यसलाई बिर्सने गर्नु हुँदैन ।

कुन देशले कुनै कमिटमेन्ट गरेको छ, कुन कम्पनीले कति लगानी गर्छु भनेको छ , कुन व्यक्तिले कस्तो आशय राखेर गएको छ भन्ने जस्ता कुरा हेर्नुपर्छ। त्यसभित्र पनि अझ उनीहरूलाई मात्र लगानी गर्न नलगाएर यहाँका स्थानीय साझेदार समेतलाई सँगै लगानी गर्न लगाउने हो भने सजिलै पुँजी र प्रविधि हस्तान्तरण हुनसक्छ ।

(प्रस्तुत सामग्री नेपाल प्रज्ञा प्रतिष्ठान र बैकल्पिक अध्ययन समाजले काठमाडौँमा आयोजना गरेको नेपालको-आर्थिक सामाजिक क्षेत्रमा बैदेशिक लगानीको प्रभाव बिषयक अन्तरक्रिया कार्यक्रममा प्रा. डा. डिल्लीराज खनालले प्रस्तुत गर्नु भएको विचार हो)

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आए...

Image

सफाइ पाउनेमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्...

Image

रास्वपा सभापति रवि लामिछानले महान्यायाधीवक्ताको कार्यालयले नै आफूविरुद्ध केही नभएको बताइसकेकाले समित...

Image

मेरुदण्ड पक्षाघात भएका (रातो र नीलो अपाङ्ग परिचयपत्रवाहक) व्यक्तिलाई पनि सरकारले औषधि उपचार खर्च  प्...

Image

कार्यक्रममा महासंघ अध्यक्ष एवं सञ्चार उद्यमी शोभा ज्ञवाली, डा. माला खरेल, अभिलाषा पौडेललगायतले महिला...

Image

प्रवासी नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउने व्यवस्थाको विषयमा गम्भीर भई अहिलेदेखि नै सोको तयारी ग...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४