काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि १ करोड ७८ लाख ४० हजार १४० कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक तर्फको अवितरित उक्त शेयर विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति वा संस्थाहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरूले वैशाख ९ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले यो शेयरको मूल्य १०० रूपैयाँ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । यी शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
बिक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकको उपत्यकाभित्रका शंखमुल–नयाँ बानेश्वर र उपत्यका वाहिरका झापा, विराटनगर, धनुषा, वीरगञ्ज, मकवानपुर, चितवन, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, कैलाली र कञ्चनपुरबाट बोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सकिनेछ । यी शेयर समूह “क” को उप–समूह “क–२” अन्तर्गत अन्य संस्थापक उपसमूहमा रहने जानकारी कम्पनीले दिएको छ ।