काठमाडौं । सरकारले सहकारीमा देखिएका समस्याहरू समाधान गर्नका लागि प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भनिन्, ‘सहकारीहरूको समस्याका बारेमा गम्भीर रूपमा छलफल भयो । यस सम्बन्धमा तत्काल कानुन व्यवस्था गरी सहकारी र तिनका कारण बचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरु गर्ने बैठकको निर्णय भएको छ ।’
त्यस्तै, बैठकले उच्च अदालत पाटनका माननीय न्यायाधीश सुदर्शनदेव भट्टलाई सो अदालतको कामकाज समेत गर्ने गरी काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ को उपदफा २३.१ अनुसार पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय समेत गरेको छ ।
हाल देशभरका विभिन्न स्थानमा आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिने बैठकले निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।