शीर्षकहरू

अराजकताले संकट ल्याउँछ, सहकारीमा पनि त्यही भयो: पूर्व अर्थमन्त्री

अराजकताले संकट ल्याउँछ, सहकारीमा पनि त्यही भयो: पूर्व अर्थमन्त्री

काठमाडौं । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले अराजकताले संकट ल्याउने बताएका छन् । दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।    

पूर्व अर्थमन्त्री खतिवडाले भने, ‘हामीले आफैँ काम गर्न नसकेपछि अर्काको नियन्त्रणमा बस्ने हो । स्वायत्ततासँगै जबाफदेही हुनुपर्छ । अराजकताले संकट ल्याउँछ, सहकारीमा पनि त्यही भएको हो । स्वायत्त भन्दा संकट आएको हो ।’ 

त्यस्तै, उनले अहिले सहकारीमा विशेष प्रकारका चुनौतीहरू रहेको र केही जोखिम पनि कायम रहेकोले ती जोखिम कम गर्नका लागि कानुनको परिपालना आवश्यक रहेको धारणा राखे । अनुसार सहकारीहरू वित्त कम्पनीसरह चलेकाले पनि समस्या सिर्जना भएको उनले बताए ।  

खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अति आवश्यक रहेको धारणा राखे । ‘सहकारीको प्रभावकारी नियमन तथा सुपरिवेक्षण तत्काल आवश्यक छ । त्यसैले दोस्रो तहको नियामक अति आवश्यक छ’, उनले भने ।    

उनले सहकारीको समस्या समाधानमा कुनै पनि निकाय जिम्मेवार नबनेको बताए । ‘बैंकहरु समस्यामा पर्दा र तरलताको अभाव हुँदा ढुकुटी खोलेर बजारमा पैसा पठाउँछ, अहिले सहकारीहरू समस्यामा छन् । तर, यसको समस्या समाधानका लागि कुनै पनि निकायले वास्ता गर्दैनन्,’ उनले भने ।

यस्तै, उनले बैंकको ब्याज खुला छोड्दा सहकारीको ब्याजमा सीमा तोक्ने विषयलाई पनि प्रश्न गरे । उनले सहकारीमा स्वायत्तता तथा स्वनियमन भनेर नै समस्या सिर्जना भएको र वर्तमान संकट देखिएको बताउँदै अब दोस्रो तहको नियामक अति आवश्यक रहेको धारणा राखे ।