काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले फागुन १८ गतेदेखि चैत ८ गतेसम्म विक्री गरेको ५० प्रतिशत हकप्रद शेयर चैत २० गते बाँडफाँट गरेको छ । कम्पनीले माघ २१ गतेसम्म कायम शेयरधनीहरूका लागि १ बराबर शून्य दशमलव ५० को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ६० हजार ६०२ जना आवेदकहरूमा ६६ लाख ८ हजार ८४९ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । यो बाँडफाँटमा नपरेको हकप्रद वापत्को रकम चैत २३ गते शुक्रवारदेखि फिर्ता भुक्तानी गरिने भनाई समेत कम्पनीको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
यस अवधिमा वितरण हुन नसकेको ११ लाख ३५ हजार ६५७ कित्ता हकप्रद शेयर भने कम्पनीले चैत २९ गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । वैशाख ९ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले यी शेयर विक्री गर्न लागेको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन दिनुपर्नेछ ।
कम्पनीले १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रूपैयाँको आधारमा ५० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रूपैयाँ कायम हुनेछ । यस कम्पनीको संस्थापकतर्फको शेयर २०७३ साल चैत १८ गतेदेखि सर्वसाधारण शेयर सहर कारोबार योग्य भएको छ ।
कम्पनी चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९ करोड २६ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको यस अवधिसम्म कम्पनीले १ करोड ९६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । चालू आर्थिक वर्षको ६ महिनामा कम्पनीले ९ करोड ८२ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको छ ।
यस वर्ष कम्पनीको कुल आम्दानी घटेसँगै खुद नोक्सानी व्यहोर्नु परेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको कुल आम्दानी १८ करोड ९२ लाख रूपैयाँभन्दा बढी रहेको थियो । यस अवधिसम्म ११ रूपैयाँ ९६ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रूपैयाँ २५ पैसा छ ।