काठमाडौं । निलगिरी खोला हाईड्रो पावर कम्पनी लिमिटेडले वैशाख २० गते विशेष साधारण सभा बोलाएको छ । चैत २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आरबी कम्प्लेक्स, लाजिम्पाट, काठमाडौ.मा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले सर्वसाधारणमा प्रारम्भिक साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सर्वसाधारणका लागि छुट्याईएको शेयर वाहेकको जारी पूँजीमा चुक्ता हुन बाँकी शेयरका सम्बन्धमा समेत आवश्यक निर्णय सभाले गर्नेछ ।
कम्पनीले यस अघि फागुन ४ गते सम्पन्न वार्षिक साधारण सभा बाट जारी पूँजीको १२ प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्ने प्रस्ताव पारित गरेको थियो । १२ प्रतिशत शेयर बाहेकको १२ लाख कित्ता शेयर प्रतिशेयर १०० रूपैयाँमा कम्पीका कर्मचारी तथा योजना निर्माणमा सहयोग गर्नेलाई आवश्यक प्रक्रिया पुरा गरी शेयर विक्री गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि सभाले गरेको थियो । यद्यपी कम्पनीले पुनः विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्तावलाई स्वीकृति दिन लागेको हो ।