काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालले युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । महत्त्वपूर्ण खेलमा फितलो प्रदर्शन गर्दै नेपालले कम रनको लक्ष दिएको हो ।
नेपालले ९ विकेटको क्षतिमा ११९ रन बनायो । टस हारेर नेपालले पहिले ब्याटिङ गरेको थियो ।
नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् । यसअघी भएका ९ खेलमा नेपालले ५ र युएईले चार खेल जितेका थिए ।
आजको खेलमा नेपालका लागि सन्दीप जोराले अर्ध शतक प्रहार गरेर दर्शकलाई केही उत्साहित भने बनाएका थिए । उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन् ।