काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर लिमिटेडको संयुक्त वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत २९ गते आर्थिक वर्ष ०७८/७९ र ०७९/८० को १५औं र १६औं संयुक्त वार्षिक साधारण सभा बोलाएको थियो । उक्त सभाका लागि गणपूरक संख्या नपुगेकाले स्थगित गर्न परेको जानकारी कम्पनीले सूचनामार्फत गराएको छ । स्थगित वार्षिक साधारण सभा पुनः बस्ने गरी यथासिघ्र मिति तय गर्ने जानकारी कम्पनीले दिएको छ ।
सभाका लागि दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउने प्रस्ताव तय गरिएको थियो । स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन र सञ्चालक समितिको बैठकभत्ता निर्धारणको विषय पनि सभाका लागि तय भएको थियो । कम्पनीले लाभांश प्रस्ताव भने गरेको थिएन ।
वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते एक दिन बुक क्लोज गरेको थियो । पुनः बस्ने वार्षिक साधारण सभाका लागि भने सोही बुक क्लोज लागू हुनेछ । बुक क्लोजको आधारमा चैत १५ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।