काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विक्री गरेको हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले फागुन १७ गतेदेखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।
अरुण भ्याली हाइड्रोपावरले हाल कायम चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँको शतप्रतिशत हकप्रद शेयर विक्री गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ३३ हजार ७१४ जना शेयरधनीहरूमा १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ता हकप्रद शेयर चैत २७ गते बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद शेयर विक्री खुला गरेकोमा १९ लाख ९२ हजार १३४ कित्ता भने वितरण हुन सकेको छैन् । अवितरित हकप्रद शेयर कम्पनीले लिलामी प्रक्रियाबाट विक्री गर्नेछ । यसका लागि भने कम्पनीले आगामी दिनमा सूचना गर्नेछ । हकप्रद बाँडफाँटका क्रममा नपरेको शेयर वापत्को रकम चैत ३० गते शुक्रवारदेखि फिर्ता भुक्तानी हुनेछ ।
अवितरित हकप्रद शेयर लिलामी प्रक्रियबाट विक्री तथा बाँडफाँट पश्चात् अरुणभ्याली हाइड्रोपावरको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ कायम हुनेछ । हकप्रद शेयर निष्कासन प्रयोजननका लागि अरुणभ्याली हाइड्रोपावरले माघ १५ गते एक दिन बुक क्लोज गरेको थियो ।
बुक क्लोजको आधारमा माघ १४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको यो हकप्रद शेयर खरीद गर्न पाएका हुन । हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अरुणभ्याली हाइड्रोपावरले ९ दशमलव ९४ मेगावाट क्षमताको काबेली बी–१ क्यास्केड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल चैत १२ गतेदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ ।