अम्बर गुरुङको ‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना

१५ फाल्गुण २०८०

cover image

काठमाडौं । नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीतसम्राटका रुपमा सम्झिने गायन, सङ्गीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने । तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उहाँले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बनाएका थिए । उक्त सपना अहिलेसम्म पूरा हुन सकेन ।

उनको आज ८६औँ जन्मजयन्ती मनाइरहँदा सङ्गीत साधकहरुले त्यही कुरालाई घच्घचयाइरहेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले उनको जन्मजयन्तीका अवसरमा सोमबार उनको योगदानको सम्मानमा वरिष्ठ सङ्गीतकर्मीबीच काठमाडौँमा अन्तरक्रिया गरी स्मरण गरेको छ ।

उक्त प्रतिष्ठानका प्रथम कुलपति तथा नेपाली राष्ट्रिय गानका सङ्गीतकार हुन अम्बर गुरुङ । आजको कार्यक्रममा उनको अर्केस्ट्रा बनाउने सपना पूरा हुन नसकेकामा सहभागीले चिन्ता प्रकट गरेका छन् । गुरुङसँग १५ वर्ष काम गर्नुभएका दीपक जङ्गम नेपाली अर्केस्ट्रा बनाउने उनको सपना पूरा गर्न सके त्योभन्दा ठूलो उपलब्धि अरू केही नहुने र उनको सच्चा सम्मान हुने बताए । 

उनले गुरुङ नेपाली गीत, सङ्गीत र नाट्य विधालाई अन्तर्राष्ट्रियस्तरको कसरी बनाउन सकिन्छ भनेर चिन्तनमनन गरिरहने व्यक्तिका रुपमा सम्झाए । “नेपालमा पनि गीत, सङ्गीताका धेरै विज्ञ हुन, उनहरुको विज्ञतालाई प्रयोग गर्न सके पनि अम्बर दाइको सोच केही प्रतिशत पूरा हुन्छ”, उनले भने ।

विसं १९९४ फागुन १४ गतेका दिन दार्जिलिङको लालढिकीमा उनको जन्म भएको थियो । उनका हजुरबुबा भारतीय सेनाको जागिरे भएर भारत जानुभएको थियो । उनका बुबा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खाएका थिए । उनको पुख्र्यौली थलो भने गोरखा जिल्लाको रिसिङ हो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली राष्ट्रिय गानका सङ्गीतकार मात्रै भनेर अम्बर गुरुङको योगदानलाई नभुल्न आग्रह गरे । उनले स्मरण गरे, “अम्बर दाइको आफ्नै गायन, शब्द र सङ्गीत रहेको ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला  ले संवेदनामै हिर्काएको महसुस हुन्छ, अर्को उनकै शब्द र सङ्गीत रहेको ‘सम्हालेर राख ’ बज्दा दाइको विम्ब मेरा अगाडि आउँछ ।”

अम्बर गुरुङलाई सङ्गीतको ऋषिमुनि मान्ने कुलपति राई जीवनको उत्तरार्धमा उनीसामु सङ्गीत भर्न अनुरोधका लागिभन्दा पनि उनका कुरा सुन्न जाने गरेको सुनाए । गुरुङलाई सम्झँदा नेपाल प्रवेशअघिको ‘नौ लाखे तारा ’को समयलाई एउटा आयाम र नेपाल आएपछिको अवस्थालाई अर्को आयामका रुपमा बुझ्नुपर्ने उनले उल्लेख गरे । उनले  गुरुङलाई सङ्गीतकार भन्दै गर्दा गीतकार र निबन्धकारको परिचयलाई नभुल्न आग्रह गरे । 

“त्यसैले उनले ऐतिहासिक कडी जोडिएको व्यक्ति हो भन्छु म, कोही एउटै गीत, कविताले चर्चित हुन्छन् तर अम्बर दाइ एउटा गीत होइन जुनसुकै गीत, सङ्गीत हेर्नुहोस् कस्तो छ”, उनले भने ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा प्रथम कुलपति गुरुङको स्मरण गर्दा उनको योगदानका साथै डिप्रेसनमा गएको कुरा भुल्न नहुने बताउछन । त्यसबेला नाट्य निर्देशक सुनिल पोखरेललगायत व्यक्तिहरुले गीत गाउन लगाएर उनलाई ‘डिप्रेसन’बाट छुटाएको कुरा बिर्सन नहुने बताउछन । त्यो बेला उहाँलाई धेरैले बिर्सिएको अनुभव उनले सुनाए ।

पुराना दिग्गज व्यक्तित्वलाई बिर्सन हुन्न भनेर आज यो कार्यक्रम गरिएको र यसअघि बालकृष्ण समलाई पनि स्मरण गरिएको उनले सुनाए । कुलपति शर्माले प्रतिष्ठानमा आफू काम गर्नका लागि आएको र सबैको राय, सुझाव र सल्लाहकै आधारमा सङ्गीत नाट्यलाई अघि बढाउने सोच आफ्नो रहेको सुनाए । उनले भने, “आउनुहोस्, छलफल गरौँ, बसौँ, कसरी अघि बढाउन सकिन्छ, सरकारलाई घच्घच्याउन सँगै जाऔँ, काम गर्न सकियो भने अम्बर गुरुङजस्ता अग्रजहरुको सपना पूरा गर्न सकिन्छ ।” 

उनले अम्बर गुरुङको नेपाली अर्केष्ट्रा बनाउने सपना पूरा गर्नका लागि बजेट माग गरेर मन्त्रालयमा योजना पेस गरेको पनि सुनाए । गुरुङको ८६औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्यसचिव कुस्मा महरा, सङ्गीतकार अमूल कार्की, पूर्वसदस्यसचिव तथा रचनाकार श्याम तमोटलगायतले गीत–सङ्गीतको क्षेत्रमा अमर गुरुङको योगदान अतुलनीय रहेको र उनको सपना पूरा गर्न सबैको एकसाथ पहल जरुरी रहेको औँल्याए । 

कार्यक्रममा गायक तथा सङ्गीताकार विष्णु अधिकारी र तबलावादक कुमार महराजले ‘मेरो यो गीतमा जुन मुर्छना छ ’, वरिष्ठ सङ्गीतकार एवं गायिका सङ्गीता प्रधानले ‘कति सम्हालौँ चोटहरु ’ र गायिका कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला ’ गीत प्रस्तुत गर्दै अम्बर गुरुङको योगदानलाई स्मरण गरे । रासस

Image

विधेयकअन्तर्गत बाइटडान्सले एक वर्षभित्र एप बिक्री गर्नु पर्नेछ वा अमेरिकामा एप्पल र गुगलको एप स्टोरह...

Image

उनले विसं २०८२ को दसैँमा फिल्म ल्याउने तयारीमा आफ्नो समूह जुटिसकेको समेत बताए । चैत ९ गतेदेखि प्रदर्...

Image

एजेन्सी । भारत सरकारले अश्लील सामाग्री प्रसारण गर्ने १८ वटा ओभर द टप (...

Image

गत पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याउनुभएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध का...

Image

कम्पनीमा सचिनको लगानीको हालको मूल्य करिब ६० करोड रुपैयाँ रहेको छ । आजाद इन्जिनियरिङको शेयरले पछिल्लो...

Image

दर्शकलाई यो फिल्मले सौगात मल्ल र नाजिर हुसेनको कामले प्रभावित बनाएको देख्न सकिन्छ । विशेष गरी, फिल्म...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४