यसरी कमाउन सक्छ नेपालले डाक्टर पढाएरै वार्षिक ५० अर्ब

२ बैशाख २०८१

cover image

काठमाडौँ । केही साता अघि मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षाको पठनपाठन गराउन सम्बन्धन दिनु भन्ने आदेश सर्वोच्च अदालतले दियो । त्यो सँगै गोविन्द केसीको हठपूर्ण भोक हडताललाई बहाना बनाउँदै राज्यले नेपालको मेडिकल शिक्षामा लगाउँदै आएको कर्के नजर अब केही नरम बन्ने आशा गरिएको छ । तर, चिकित्सा शिक्षा आयोग नामक एउटा संरचना नै बनाएर सो मार्फत गरिएको चिकित्सा शिक्षाको नियोजनले राज्यलाई के कति आर्थिक क्षति पुगेको छ भन्ने हिसाब भने धेरैले  गरेका नै छैनन् ।

खासमा नेपालमा मेडिकल शिक्षाको स्थिति के छ र यसलाई ठिक ढंगले प्रयोग गर्ने हो भने नेपालले के कसरी लाभ लिन सक्छ भन्नेबारे बुझ्न सर्वप्रथम केही तथ्यांकहरु हेरौं:

आकांक्षी धेरै, छैन प्रयाप्त सीट 

एमबिबिएस तहको अध्ययन अध्यापन गराउने अनुमति प्राप्त जम्मा २१ वटा कलेजहरू अहिले नेपालमा छन् । जसमा जम्मा १८९५ जनाको सिट क्षमता रहेको छ । यो संख्यामा नेपाल सरकारले उपलब्ध गराउने छात्रवृत्ति र आरक्षण कोटा समेत समावेश छ ।

यदि अघिल्लो वर्ष सन् २०२३ मा एमबिबिएस अध्ययन गर्न इच्छा व्यक्त गर्ने अर्थात् प्रवेश परीक्षामा सहभागी विद्यार्थीको सङ्ख्या हेर्ने हो भने त्यो उपलब्ध कोटा भन्दा धेरै नै बढी छ । गएको वर्ष १० हजारभन्दा बढी बिद्यार्थीहरु प्रवेश परीक्षामा सामेल भएका थिए तर जम्मा १८९५ मात्र सिट नेपालमा उपलब्ध छ ।

यसरी हेर्दा एमबिबिएस अध्ययन गर्न चाहने ८१ प्रतिशतको लागी नेपालमा अध्ययन अवसर नै नरहेको देखिन्छ । परिणाम स्वरूप ठुलो संख्यामा नेपाली बिद्यार्थीहरु एमबिबिएस अध्ययन गर्न कै लागी विदेश जानुपर्ने बाध्यता छ । बि. स. २०७९ मा मात्र ५३६ जना विद्यार्थीले विदेशमा एमबिबिएस अध्ययन गर्न जान शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएको देखिन्छ । यसरी विदेश जानेहरूमध्ये बंगलादेश, चीन, भारत, इजिप्ट र फिलिपिन्स जाने गरेका छन् ।

नेपाली विद्यार्थीले बंगलादेशमा ६० देखी ७० लाख, भारतमा १ करोड,चीनमा ४० देखी ५० लाख र फिलिपिन्समा ८० देखी ९० लाख तिरेर एमबिबिएस पढ्दै आएका छन् । यस हिसाबले हेर्दा नेपालबाट यसरी विदेश पढ्न जानेले औसतमा ७५ लाख रुपैयाँ त्यहाँ शुल्क तिरेर पढ्ने गरेका छन् । जसबाट २०७९ सालमा मात्र ३ अर्ब ९० करोड भन्दा बढी नेपाली रुपैयाँ एमबिबिएस अध्ययनको लागी बाहिर गएको देखिन्छ ।

नेपालमा पढ्न आउँछन् विदेशबाट बिद्यार्थी 

त्यसो त नेपालमा पनि विदेशबाट एमबिबिएस पढ्न विद्यार्थी आउने गरेका छन् । यहाँ जम्मा ३४६ वटा सिट विदेशी विद्यार्थीको लागी छुटाइएको छ । तर, ती सिट अनुसार विदेशी विद्यार्थी भने आएका छैनन् । सन् २०२३ मा जम्मा १३८ जना मात्र विदेशी विद्यार्थी नेपालमा एमबिबिएस अध्ययन गर्न आएका छन् ।

हाल नेपालमा अस्ट्रेलिया, बंगालदेश, क्यानडा, दुबई, भारत, इरान, केन्या, मालदिभ्स, नैरोबी, सिंगापुर, दक्षिण अफ्रिका, श्रीलंका, तान्जानिया, बेलायत र अमेरिकाका बिद्यार्थीहरु एमबिबिएस अध्ययन गरिरहेका छन् ।

नेपालको एमबिबिएस कोर्स र यहाँको पढाई नेपालीहरू पढ्न जाने अन्य मुलुकको तुलनामा राम्रो भएपनि सो अनुरुप विदेशी विद्यार्थी यहाँ कम आउनुको कारण खोज्नुपर्ने देखिन्छ । राज्यले नै नेपालको चिकित्सा शिक्षाको गुणस्तरबारे प्रचारप्रसार गर्ने हो भने नेपालमा चिकित्सा शिक्षाको लागी ठुलो संख्यामा विदेशी विद्यार्थी आकर्षित गर्न सकिने सरोकारवालाहरू बताउँछन् ।

भारतबाट ल्याउन सकिन्छ ५ हजार बिद्यार्थी 

तथ्यांकले नै के देखाउँछ भने हामीले विदेशी विद्यार्थी खोज्न धेरै टाढा समेत जानुपर्ने छैन । भारतबाट नै मात्र पनि विद्यार्थी आकर्षित गर्न सके यहाँ स्थिति अर्कै हुन्छ । भारतमा त्यहाँको प्रवेश परीक्षा निटमा सामेल हुने विद्यार्थीको सङ्ख्या सन् २०२३ मा ११ लाख ४५ हजार ९७६ थियो । जबकि भारतमा नै पनि एमबिबिएस अध्ययनको लागी उपलब्ध सिट सङ्ख्या केवल १ लाख ९ हजार १५ मात्र हो ।

यसरी भारतमा अध्ययन अवसर नपाएका बिद्यार्थीहरु अहिले चीनमा २३ हजार, युक्रेनमा १८ हजार, रुसमा १६ हजार र फिलिपिन्समा १५ हजार भन्दा बढी गएको तथ्यांकहरुले देखाएको छ । यदि हामीले ती विद्यार्थी मध्ये जम्मा ५ हजार जना मात्र नेपालमा आउने वातावरण बनाउने हो भने नेपालले चिकित्सा शिक्षाको अध्ययन गराएरै ठुलो मात्रामा विदेशी मुद्रा यहाँ भित्राउन सक्ने सम्भावना छ । जसले नेपालको व्यापार घाटा काम गर्न ठुलो मद्दत पुग्ने देखिन्छ ।

नेपालले लिन सक्ने आर्थिक लाभको अनुमान गर्दा नै निकै आशावादी बन्न सक्ने अवस्था छ । नेपालमा एमबिबिएस पढ्न आउने विद्यार्थीले औसत १ करोड नेपाली रुपैयाँ खर्च गर्दा ५ हजार करोड अर्थात् ५० अर्ब रुपैयाँ हरेक वर्ष आर्जन गर्न सक्छ । यसलाई हाँसिल गर्न किन पनि सहज छ भने भारतीय विद्यार्थीलाई नेपाल आउन् भिसा आवश्यक छैन । नेपालको एमबिबिएस डिग्रीले  भारतमा मान्यता पाएको छ । सांस्कृतिक रुपमा समेत कुनै जटिलता छैन । सडक र हवाई दुवै माध्यमबाट सहज रुपमा आवतजावत गर्न सकिन्छ ।

यो सम्भावनालाई मूर्त रूप दिनका लागी सरकारले नेपालमा मेडिकल कलेजको सङ्ख्या बढाउनु पर्छ । त्यसैगरी नेपाली र विदेशी दुवै विद्यार्थीको लागी सिट क्षमता बढाउनु पर्छ । वर्षमा दुई पटक विद्यार्थी भर्ना गर्ने भनी बजेटमा समेत उल्लेख गरिएको नीतिलाई कार्यान्वयन ल्याउनु पर्छ ।हाल नेपालमा रहेको चिकित्सा शिक्षा सम्बन्धी ऐन र कानुनलाई परिमार्जन गर्नुपर्छ । त्यस अलावा, विद्यार्थी भर्ना प्रक्रिया सहज बनाउनु पनि आवश्यक छ ।

Image

अहिले सो कार्यालयमा रु सात करोड १४ लाख मूल्य बराबरको छ लाख २४ हजार थान पुस्तक मौज्जात रहेको उनले जान...

Image

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच स...

Image

“सामुदायिक विद्यालयलाई व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चिता गर्न सहयोग पु¥याउने उ...

Image

त्रिवि ऐनअनुसार रेक्टर र रजिष्ट्रार पदमा उपकुलपतिले सिफारिस गरेका व्यक्तिलाई कुलपतिले नियुक्ति गर्नु...

Image

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्...

Image

हिमालपारिका जिल्ला मुस्ताङ, मनाङसहित सबै जिल्लामा स्थानीय विक्रेतामार्फत पाठ्यपुस्तक पु¥याइएको केन्द...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४