काठमाडौं । पछिल्लो समय हरेक दिन नै विभिन्न कम्पनीहरूले संस्थापक शेयर खरिदका लागि सूचना जारी गरिरहेका छन् । सो क्रममा शुक्रवार तीन कम्पनीहरूको ७५ हजार ४४५ कित्ता संस्थापक शेयर विक्रीका लागि सूचना जारी भएको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५ हजार कित्ता, नेशनल लाइफको १९ हजार ९४५ कित्ता र ग्रामीण विकास लघुवित्तको ५० हजार ५०० कित्ता संस्थापक शेयर विक्रीका लागि सूचना जारी भएको हो । यी शेयर खरिदका लागि विद्यमान संस्थापक शेयर धनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्नेछन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शेयरको मूल्य प्रतिकित्ता १२० रुपैयाँ, नेशनल लाइफ इन्योरेन्सको प्रतिकित्ता २२५ रुपैयाँ र ग्रामीण विकास लघुवित्तको प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ ।
इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । नेशलन लाइफ इन्स्योरेन्सको शेयर खरिदका लागि न्यूनतम २ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने ग्रामीण विकास लघुवित्त र शाइन रेसुङ्गा डेभलपमेण्टको शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ता माग गर्न सकिने व्यवस्था छ ।
अधिकतम सीमाको लागि भने कुनै हद तोकिएको छैन । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यी कम्पनीको शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरूले वैशाख १४ गतेपछि यी कम्पनीहरूबाट लाभांश तथा हकप्रद शेयर घोषणा भएमा प्राप्त गर्न योग्य हुने जानकारी कम्पनीहरूले दिएका छन् ।
आवेदन विक्री प्रबन्धकको कार्यालय थापाथली, काठमाडौंमा वैशाख २१ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ ।