चितवन । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, किर्तिपुर र पोखरा हुदैँ अब चितवनमा पनि विस्तार भएको हो ।
काठमाडौं र पोखरामा पहिलेदेखि नै लोकप्रिय कम्पनीले यही वैशाख १४ गते पत्रकार सम्मेलनमार्फत चितवनवासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी दिएको हो ।
कम्पनीका ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले चितवनमा रहेका प्रख्यात रेस्टुरेन्टहरुका खानेकुराहरु घर, अफिस वा ग्राहकले चाहेको ठाउँमा नै अनलाइनमार्फत डेलिभर गर्न हामी उत्साहित रहेको बताए ।
कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीका अनुसार फुडमान्डुलाई फुड डेलिभरीको अग्रणी कम्पनीको रुपमा नेपालका मुख्य सहरहरुमा क्रमशः फैलाउने योजना छ । स्थापना भएको १३ वर्ष पुगेको नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमान्डुले काठमाडौं र पोखरामा पाएको सफलता अब चितवनमा पनि पाउनेमा कम्पनी ढुक्क रहेको छ ।
चितवनवासीलाई डेलिभरी सेवा दिन अहिले फुडमान्डुले पहिलो चरणमा स्थानीय रेस्टुरेन्ट तथा होटलहरुसँग सहकार्य गरेको छ । साथै भविष्यमा अन्य सेवाहरु पनि विस्तार गर्दै जाने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
फुडमान्डुले आफैँ खाना बनाउँदैन, रेस्टुरेन्टहरुमा पाइने खानालाई उपभोक्ताको घरदैलोसम्म ल्याइदिने काम गर्दछ । ग्राहकले मोबाईल एप, वेबसाइट र फोनमार्फत खाना अर्डर गर्न सक्छन्, जसलाई फुडमान्डुमा आबद्ध रेस्टुरेन्टहरुले तयार गर्छन् । फुडमान्डुसँग अहिले एक हजारभन्दा बढी रेस्टुरेन्टहरु आबद्ध छन् । चितवनमा सेवा विस्तार गर्ने क्रममा कम्पनीले बैशाख ३१ गतेसम्म हरेक अर्डरमा ‘फुड सफारी’ कोड प्रयोग गर्दा ३० प्रतिशत (५ सय रुपैयाँसम्म) छुट पाउने घोषणा गरेको छ ।