पुनर्बीमा कम्पनीको सीईओको दौडबाट दुई जना आउट, कस्ले बाजी मार्ला ? - Aarthiknews
aarthiknews.com विहीबार, २६ मंसिर २०७६   Thursday, 12 December, 2019
 
Bajaj_Bike

पुनर्बीमा कम्पनीको सीईओको दौडबाट दुई जना आउट, कस्ले बाजी मार्ला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
Sunrise bank
पुनर्बीमा कम्पनीको सीईओको दौडबाट दुई जना आउट, कस्ले बाजी मार्ला ?
LBEF
NCH-IPS

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी हाँक्नका लागि छ जना दौडमा देखिए पनि दुई जना सेमिफाइनबाटै आउट भएका छन् । बाँकी रहेका चार जनाको अन्तर्वार्ता तथा व्यावसायिक योजनाको प्रस्तुतीकरण मंसिर २२ गते आइतबार बेलुका ४ बजेदेखि शुरु हुँदैछ । उक्त परीक्षामा उत्तीर्ण हुने नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनेछ ।

उक्त कम्पनीको सीईओ पदका लागि छ जनाले आवेदन बुझाएका थिए । त्यसमध्ये नबिल बैंकका पूर्वकर्मचारी ज्ञानेश्वर आचार्य र युनाइटेड इन्स्योरेन्स कम्पनीको पूर्वप्रमुख कार्यकारी अधिकृत शेखर बराल पुनर्बीमा कम्पनीको सीईओ हुने दौडको सेमिफाइनबाटै आउट भएका छन् । दुई जना आउट भएपछि अब चार जना मात्र प्रतिस्पर्धामा छन् ।

सीईओ पदका लागि अब एक जना बीमा क्षेत्रका र तीन जना पूर्वबैंकर्सले प्रतिस्पर्धामा छन् । बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका पुनर्बीमा कम्पनीमा यसभन्दा अघि प्रमुख कार्यकारी अधिकृतको पद सम्हालिसकेका चिरायु भण्डारी पुनः त्यही पदका लागि प्रतिस्पर्धामा छन् । बीमा कम्पनीको अनुभाव नभए पनि बैंकिङ क्षेत्रको अनुभव भएका तीन जना पनि पुनर्बीमा कम्पनीको सीईओको दौडमा लागेका छन् । उनीहरु सबैले आगामी आइतबार व्यावसायिक योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिँदैछन् ।

सरकारी स्वामित्वका दुई बैंकका पूर्वकर्मचारीले पुनर्बीमा कम्पनीको सीईओ बन्ने दौडमा छन् । कृषि विकास बैंकका पूर्वकर्मचारी शेषनारायण आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी शंकरकुमार रायमाझीले पुनर्बीमा कम्पनीको सीईओको दौडमा छन् । दुवै जना यसअघि नेपाल बैंकको सीईओ बन्ने प्रतिस्पर्धामा पनि थिए । नेपाल बैंकको सीईओको दौडमा असफल भएपछि पुनर्बीमा कम्पनीको सीईओमा दौडमा लागेका हुन् । 

यसैगरी नेपाल राष्ट्र बैंकको लामो अनुभव भएका अशोककुमार पौडेल पनि पुनर्बीमा कम्पनीको सीईओको दौडमा छन् । पौडेलसँग केन्द्रीय बैंकमा निर्देशकसम्म भएर काम गरेको अनुभव छ । अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा गर्भनर हुँदा उनी गभर्नरको सचिवलयमा बसेर काम गरेका थिए । उनी डा. खतिवडाको विश्वासिला सहयोगी थिए ।

पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत छनोटको लागि अर्थ मन्त्रायलका सहसचिव हरिशरण पुडासैनी संयोजकत्वमा, आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य र पुनर्बीमा कम्पनीका सञ्चालक रमेश राना सदस्य भएको छनोट समिति गठन गरेको छ । छनोट समितिले आइतबार उनीहरुको अन्तर्वार्ता र व्यावसायिक योजनाको प्रस्तुतीकरण लिएपछि त्यही साता वा अर्को सातासम्म पुनर्बीमा कम्पनीले सीईओ पाउने भएको छ । आगामी साता पुनर्बीमा कम्पनीले सीईओ पाउने सम्भावना रहेको समितिका एक सदस्यले बताए । 

पुनर्बीमा कम्पनीको सीईओले मासिक २ लाख ५ हजार तलब र कार्यसम्पादन नतिजाका आधारमा अतिरिक्त ५ महिनासम्मको प्रोत्साहन भत्तासहितको सुविधा पाउने गर्छ । उक्त पदमा अनुभवीभन्दा पनि राजनीतिक आस्थाका आधारमा नियुक्ति गरिने सम्भावना बढी छ । 

प्रतिक्रिया दिनुहोस