महेन्द्रनगर र नेपालगञ्ज हवाई रूट : उच्चस्तरीय कूटनीतिक पहल आवश्यक - Aarthiknews
aarthiknews.com बुधबार, २५ मंसिर २०७६   Wednesday, 11 December, 2019
 
Bajaj_Bike

महेन्द्रनगर र नेपालगञ्ज हवाई रूट : उच्चस्तरीय कूटनीतिक पहल आवश्यक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
Sunrise bank
महेन्द्रनगर र नेपालगञ्ज हवाई रूट : उच्चस्तरीय कूटनीतिक पहल आवश्यक
LBEF
NCH-IPS

काठमाडौं । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका लागि अति आवश्यक महेन्द्रनगर र नेपागञ्ज हवाई रूटका लागि भारतसँग उच्चस्तरीय कुटनीतिक पहल आवश्यक देखिएको छ । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा सो विमानस्थलका लागि आवश्यक ती दुई रूटबारे भारतको अडानले नेपाललाई दीर्घकालीन असर पर्ने भएकाले रूटका लागि कूटनीतिक पहल आवश्क भएको विज्ञहरूको धारणा छ । 

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो हवाई रूटका विषयमा वार्ता भएको थियो । यस्तै गतवर्ष माघ महीनामा दिवंगत पर्यटन मन्त्री रवीन्द्र अधिकारीले पनि भारतको मुम्बईमा आयोजना भएको ‘ग्लोबल एभिएशन समिट–२०१९’ मा यस विषयमा भारतीय समकक्षीसँग यसबारे छलफल गरेका थिए । तर पनि हालसम्म यो विषय भारतीय कर्मचारीतन्त्रले ‘भइहाल्छ’ भन्दै नेपाललाई झुलाउँदै गरेको पर्यटन मन्त्रालयकै अधिकारीको धारणा छ । 

विमानस्थल बन्ने काम अन्तिम चरणमा पुगेकाले नेपालका लागि आवश्यक ती रूटबारे कूटनीतक तहबाटै गम्भीर वार्ता गर्न आवश्यक भएको अधिकारीहरूको धारणा छ । सरकारले महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेश विन्दुका लागि भारतसँग पुनः छलफल गर्ने भने पनि यो कुरा कुरामै सीमित भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटन मन्त्रालय सम्हाले यता विभिन्न फोरममा यस विषयमा भारतसँग कूटनीतिक पहल गर्ने बताउँदै आएका छन् । तर, पर्यटन मन्त्रालय स्रोतका अनुसार यसबारे कुनै ठोस योजना वा कार्यक्रम बनेको छैन । 

२०७५ असार २ गते नेपालमा भएको दुईपक्षीय वार्तामा भारत नेपाललाई थप चारओटा हवाई रूट दिन सहमत भएको थियो । तर, एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्राविधिक विषय नमिलेको तथा त्यसको सुरक्षा मूल्याङ्कन (सेफ्टी एसेसमेन्ट) गर्न अरू समय लाग्ने भन्दै तत्काल थप हवाई रूट दिन नसक्ने जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो ।

असारमा भारतले भैरहवा, जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट पनि प्रवेश बिन्दु दिन सहमति जनाएको थियो । तर पछि पश्चिमका रूटमा सहमति नदिई भैरहवा र जनकपुरबाट मात्र क्रशबोर्डर हवाई प्रवेश बिन्दु दिन सहमति जनाएको थियो ।

यो रूटमा भारतले सुरक्षा चासो देखाउँदै अनुमति दिन नमानेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीको धारणा छ । पूर्व—पश्चिम दुवैतर्पmबाट आउने विमानहरू हालसम्म सिमरा नजीकै रहेको ‘रोमियो’ बिन्दुबाट नेपाल प्रवेश गर्छन् । भारत, हङकङ, सिंगापुर, मलेशिया, ढाका, बैंकक लगायत ठाउँबाट आउने हवाई जहाजहरू यही विन्दुबाट नेपाल प्रवेश गर्दै आएका छन् । यो समाचार आजको अर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस