गाउँशहरमा बिहेको चहलपहल तर सुन पसलेलाई छोएन - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

गाउँशहरमा बिहेको चहलपहल तर सुन पसलेलाई छोएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
Sunrise bank
गाउँशहरमा बिहेको चहलपहल तर सुन पसलेलाई छोएन
LBEF
NCH-IPS

काठमाडौं । सुनको मूल्य अचाक्ली बढेपछि विवाहको लगन हुने मंसिर महिनामा पनि सुन पसल सुनसान देखिएका छन् । अन्य समयमा बिक्री नभएको सुन विवाहको  लगनका बेला बिक्री हुने अपेक्षा व्यापारीले गरेका थिए । तर, उनीहरुको त्यो अपेक्षा मंसिरमा पनि पूरा हुन सकेन । 

विवाहमा सुनमा सौदाबाजी गर्न थालिएकाले पनि सुन बिक्रीमा कमी आएको व्यवसायीको भनाइ छ ।  अहिले सुन महँगो छ, घटेका बेला किनौला अहिले धेरै नकिनौ भनेर आपसमा सहमति गर्ने भएकाले पनि सुन बिक्रीमा कमी आएको हो । 

त्यसैगरी छिमेकीको सुन विवाह गर्नका लागि लैजाने र विवाह सकिएसँगै फिर्ता गर्ने भएकाले पनि सुन बिक्रीमा कमी आएको हो । अघिल्लो वर्षको विवाहको सिजन मंसिरमा जति बिक्री हुने गरेको थियो सुन त्योभन्दा निकै कम यस वर्षको मंसिरमा हुने अनुमान व्यवसायीले गरेका छन् । सुनको मूल्यमा गिरावट नआए विवाहको सिजन माघमा पनि त्यही दोहोरिने निश्चितजस्तै भएको उनीहरुको भनाइ छ ।

सुनको मूल्य बढेपछि बिक्रीमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । अघिल्लो वर्षको मंसिरमा दैनिक ५० किलो सुन बिक्री भएको थियो  । तर, यसपटक दैनिक १५ किलो पनि सुन बिक्री भएको छैन ।  विवाहको सिजन मंसिरमा पनि अन्य समयमा जस्तै कम सुन बिक्री हुने सम्भावना देखिएको छ ।

केही समयअघि प्रतितोला ६० हजारको हाराहारीमा किनबेच हुँदै आएको सुनको मूल्य एकाएक बढेर ७० हजारमाथि पुगेपछि बिक्री हुन छाडेको व्यवसायीको भनाइ छ । ‘प्रतितोला ७० हजारभन्दा कम भयो भने सुन बिक्री केही बढ्ने र त्यो मूल्यभन्दा बढी हुँदा बित्तिकै सुन बिक्री हुनै छाड्ने गर्छ,’ शाक्यले भने–‘विवाहको सिजन शुरु हुनुभन्दा अघिदेखि नै  सुनको भाउ ७० हजारभन्दा माथि पुगेकाले सुन बिक्रीमा कमी आएको हो ।’ 

अघिल्लो वर्षको मंसिरमा सुन किन्नेको घुइँचो लाग्ने गरेकोमा यसपालीको उक्त विवाहको महिनामा भने त्यसको ठिक विपरित सुन बिक्री गर्नेको भिडभाड देखिएको छ । मूल्य उच्च भएपछि खरिद गर्ने भन्दा पसलमा पुरानो सुन बिक्री गर्नेको घुइँचो तिहारको पूर्वसन्ध्यामा लागेको एक व्यवसायीले  बताए । 

भाउ बढेदेखि नै सुन बिक्री गर्नेको चाप पर्दै आएको व्यवसायी बताउँछन् । त्यसैगरी, मूल्य घटदा सुन किन्ने बढ्छन् । सुनको मूल्य घट्दा दैनिक ४० किलोको सुन माग हुने शाक्यले बताए । तर, सुनको मूल्य बढ्दा माग पनि स्वात्तै घटने गर्छ । ‘सुनको माग कम हुँदा व्यवसायीले बिक्री गर्ने ठाउँ छैन्,’ शाक्यले भने–‘सरकारले खपत हँुदा सुनको आयात बढाउने र माग हुन छाडेका बेला खरिद गर्ने व्यवस्था गर्नुपर्छ ।’ सरकारले चाडपर्व र विवाहको सिजनमा दैनिक २५ किलो र अन्य समय (अफ सिजन) मा भने दैनिक २० किलोमात्रै सुन ल्याउन दिँदै आएको छ ।

सुनको मूल्य बढ्दा बिक्रीमा कमी आउने र मूल्य घट्दा बिक्री बढी हुने गरेको अनुभव पनि ती बैंकरले सुनाए । विश्व बजारमा शक्तिशाली राष्ट्रबीचको व्यापारिक तनावले स्थानीय बजारमा सुनको भाउ उच्चविन्दुमा पुगेको छ । विश्व बजारमै सुनको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ४ सय डलर पुगेको छ ।

सुनमा गरिएको लगानीलाई सबैभन्दा सुरक्षित मानिने गर्छ । त्यसैले पनि शेयर र डलर खरिद गर्न छाडेर सुन खरिद गर्न थालिएकाले पनि भाउ बढ्न पुगेको हो । 
 

प्रतिक्रिया दिनुहोस