शीर्षकहरू

‘पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु’

‘पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु’

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजीबजारको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आज आयोजित स्वागत कार्यक्रमा उहाँले पुँजीबजारका लगानीकर्ताको मनोबल उच्च बनाइराख्नका लागि सेबोनले सबै सरोकारवाला संस्थासँग सहकार्य गर्ने समेत उल्लेख गर्नुभयो ।

“अहिले पुँजीबजारको दायरा विस्तार र सरकारवालाको भूमिका पनि बढाउँदै लैजानुपर्ने आवश्यकता छ, यसका लागि सेबोन तयार छ”, उहाँले भन्नुभयो । उहाँले शेयर बजारबारे सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिनेलाई नियमन गर्नका लागि समेत सेबोनले तयारी गरेरहेको जानकारी दिनुभयो ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष सागर ढकालले यी चार वटै संस्थाको उद्देश्य मुलुकको आर्थिक विकास र रोजगारी सृजना रहेकाले एकजुट हुन आवश्यक रहेको बताउनुभयो । “पुँजीबजारको विकासका लागि यी सबै संस्थाबीच सहकार्य र समन्वय आवश्यक छ”, उहाँले भन्नुभयो, “धितोपत्र बोर्डले पनि हालै नयाँ नेतृ्त्व पाएकाले उहाँको कार्यकालमा पुँजीबजारले नयाँ फड्को मार्ने हाम्रो अपेक्षा छ ।”

पुँजीबजार क्षेत्रका यी तीन वटै संस्थाले एकै समयमा नयाँ र युवा नेतृत्व पाएकाले बजारको विकासका लागि यो नेतृत्वमा एतिहासिक काम गर्ने जिम्मेवारी आएको उहाँको भनाइ थियो । मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष रमेन्द्र रायमाझीले पुँजीबजार अहिले विकासको क्रममा रहेको उल्लेख गर्नुभयो । धितोपत्र बोर्डले लामो समयपछि हालै नयाँ नेतृत्व पाएकाले बजारको विकासका लागि ढिलाइ गर्न नहुने र अध्यक्ष श्रेष्ठको नेतृत्वमा सेबोनले नयाँ फड्को मार्ने अपेक्षा रहेको उहाँको भनाइ थियो ।

पुँजीबजारलाई अगाडि बढाउन आफू र आफ्नो संस्था धितोपत्र बोर्ड, स्टक ब्रोकर सङ्घ तथा सञ्चारमाध्यमसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । शेयर बजार आर्थिक विकासको पनि आधार भएको र सबैको लक्ष्य एउटै भएकाले एकजुट हुन जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो । “पुँजीबजारका लगानीकर्ताको मनोवल र विश्वास बढाउन आवश्यक छ, यसका लागि आमरूपमा जनचेतना फैलाउनु छ”, उहाँले भन्नुभयो, “यसका साथै डिजिटाइजेसनका क्षेत्रमा पनि धेरै काम गर्न आवश्यक छ ।”

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) का अध्यक्ष रामराजा श्रेष्ठले मुलुकको आर्थिक विकासका लागि सञ्चारमाध्यम र सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले विभिन्न सङ्घ संस्थाका नवनियुक्त तथा नवनिर्वाचित पदाधिकारिलाई बधाई दिँदै पुँजी बजारलाई चलायमान बनाउन र देखिएका समस्या समाधान गर्नका लागि शुभकामना दिनुभयो ।