काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजय प्राप्त गरेको छ। यो प्रतियोगितामा जनकपुरको पहिलो हार हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमका स्पिनरहरूले उत्कृष्ट प्रदर्शन गर्दै जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरे। सुदूरपश्चिमले जितका लागि दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले १२.१ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्र बनाएको थियो।
पाँच खेल खेलेका जनकपुर र सुदूरपश्चिम दुवैको अंक तालिकामा समान आठ/आठ अंक छ। जनकपुरका लागि जोसुअ ट्रोम्पले सर्वाधिक १३ रन बनाएको भए पनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। सुदूरपश्चिमका हर्मित सिंह, दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान दुई/दुई विकेट लिए भने, सैफ जैब, स्कट कुगुलेइन र नरेन साउदले समान एक/एक विकेट लिए।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२३ रनको योगफल बनाएको थियो। सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ३७ बलमा तीन चौका र एक छक्काको मद्दतमा सर्वाधिक ३३ रन बनाए। सैफ जैबले २१, इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
जनकपुरका लागि किशोर महतो एक्लैले चार विकेट लिए। शेर मल्ल र अरनिको यादवले समान दुई/दुई विकेट लिए भने हर्ष ठाकुरले एक विकेट लिए।