शीर्षकहरू

१४ वर्षमै १९ रुपैयाँबाट १ करोड ३९ लाख रुपैयाँ पुग्यो बिटक्वाइनको मूल्य

१४ वर्षमै १९ रुपैयाँबाट १ करोड ३९ लाख रुपैयाँ पुग्यो बिटक्वाइनको मूल्य

काठमाडौं । बिटक्वाइन (बिटिसी) ले हालसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार बिहानसम्म बिटक्वाइन १ लाख ३ हजार ५८७ अमेरिकी डलरमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि बिटिसीले नयाँ उचाई कायम गरेको हो । ट्रम्पले आफ्नो चुनावी अभियानमा बिटिसीलाई नियमन गर्ने बाचा गरेका थिए । उनले अमेरिकालाई क्रिप्टोकरेन्सीको क्यापिटल बनाइने बताएका थिए । त्यसैले निर्वाचनको सरगर्मी सुरु भएसँगै बिटिसीको मूल्य पनि वृद्धि हुन थालेको हो ।

अमेरिकी उद्यमी एलन मस्कको नेतृत्वमा अमेरिकाको ह्वाइट हाउसमा स्थापना गरिएको सरकारी दक्षता विभागले क्रिप्टोसम्बन्धी नीति बनाउने योजना बनाएको छ । त्यस्तै, ट्रम्पले अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसन (एसईसी) को अध्यक्षमा पल एटकिन्सलाई नियुक्त गरेका छन् । यो संस्थाले बिटक्वाइनलाई प्रवर्द्धन गर्ने नीति लिएको छ ।

एटकिन्स एसईसीको सन् २००२ देखि २००८ सम्ममा कमिश्नर थिए । उनी पाटोमक ग्लोबल पार्टनर्सका संस्थापक पनि हुन  । सन् २०१७ देखि उनले डिजिटल चेम्बर अफ कमर्सको सह अध्यक्षको पनि काम गरेका थिए । यो डिजिटल सम्पतिहरुको प्रयोगलाई प्रवर्द्धन गर्ने संस्था हो । 

त्यस्तै, एक्सचेन्ज ट्रेड फण्डले एकैदिन ६७६ डलर मिलियन बिटक्वाइनमा लगानी गरेको छ । यसले साना लगानीकर्तालाई आकर्षित गर्नुका साथै बिटक्वाइनलाई सम्पत्तिको रुपमा खरिद गर्न प्रेरित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

ट्रम्पको क्रिप्टो मैत्री एजेन्डा र एटकिन्सको नेतृत्वले क्रिप्टोको बजारमा अझ बढी फराकिलो हुने अपेक्षा गरिएको छ । यो हप्ता १ लाख २० हजार अमेरिकी डलर पुग्ने अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

ट्रम्पले अमेरिकाको निर्वाचन जितेपछि बिटक्वाइनको मूल्य ५० प्रतिशतले बढेको छ भने सुरुवात देखि १३४ प्रतिशतले बढेको छ । 

१४ सेन्टबाट एक लाख पुग्यो बिटिसी 
३१ अक्टोबर २००८ मा सतोशी नाकामोतो ले बिटक्वाइन ब्लकचेन नेटवर्कको कार्यक्षमता वर्णन गर्दै बिटक्वाइन सम्बन्धी श्वेतपत्र प्रकाशित गरेका थिए । सतोशीले बिटक्वाइन खरिद गरी १८ अगष्ट २००८ मा बिटक्वाइन परियोजना औपचारिक रुपमा काम शुरु गरेका थिए  । 

उनले ३ जनवरी २००९ मा बिटक्वाइन नेटवर्कको पहिलो ब्लकमाइन गरेका थिए । यस समयमा बिटक्वाइनको कुनै मूल्य र अस्तित्व थिएन । ६ महिना पछि बिटक्वाइन  व्यापारयोग्य भएको थियो । अप्रिल २०१० मा एक बिटक्वाइनको मूल्य १४ सेन्ट भन्दा कम थियो । 

बिटिसीको मूल्य सन् २०१६ मा ३४३ अमेरिकी डलर थियो । जनवरी २०१७ मा ९९८ अमेरिकी डलर पुग्यो । २०१७ जुलाइमा बिटिसीलाई सफट्वेयरको स्तरवृद्धि गरियो । जसको लाइटनिङ नेटवर्कको विकासलाई समर्थन गर्ने साथै सुरक्षाको सुधार गर्ने उद्देश्य थियो । अपग्रेड सक्रिय भएको एक हप्तापछि अगष्ट २०१७ मा बिटिसी लगभग २७०० अमेरिकी डलरमा कारोबार भयो । १७ डिसेम्बर २०१७ मा बिटिसीको मूल्य २० हजार अमेरिकी डिलर कायम भयो । 

तर, २०१८ को अन्तिममा यसको मूल्य  घटेर ३७०० अमेरिकी डलरमा सीमित भयो । त्यसपछि सन् २०२० को अन्तदेखि बिटिसीले पुन स्तरवृद्धि गर्‍यो । र माइक्रोस्ट्राटेजी को विजनेश इन्टिलेजेन्स कम्पनीको अगष्टमा भएको घोषणाबाट यसले २५० अमेरिकी डलर मिलियन बिटिसी खरिद गरेको थियो । 

टेस्लाले सन् २०२१ को सुरुवातमा बिटिसीमा १.५ अमेरिकी डलर बिलियन खरिद गरेपछि पनि बिटिसीको मूल्य बढ्यो । सो बर्षको नोभेम्बरमा बिटिसी हालसम्मको उच्च मूल्य ६९ हजार अमेरिकी डलर कायम भयो । 

क्रिप्टोकरेन्सीको सुरुवात सन् १९८३ मा अमेरिकी क्रिप्टोग्राफर डेभिड चाउमले क्रिप्टोग्राफिक इलेक्ट्रोनिक सम्पतीको प्रारम्भिक रुपरेखा तयार गरी एक सम्मेलनमा अवधारणा पत्र  प्रकाशित गरेपछि यसको बारेमा छलफल शुरु भएको पाइन्छ । सो अवधारणा यस्तो सम्पति को लागि थियो जुन अप्रत्याशित रुपमा पठाउन सकिन्थ्यो र केन्द्रीकृत संस्थाहरुको पनि आवश्यकता पर्दैनथ्यो । सन् १९९५ मा चाउम ले प्रारम्भिक विचारहरु निर्माण गरी डिजीक्यास नामक प्रोटो–क्रिप्टोकरेन्सी विकास गरेका थिए । 

ओपन सोर्स सफटवेयरका रुपमा २००९ मा ६ हजार क्रिप्टोकरेन्सी जारी भएको थियो । बिटिसी नाम दिइएको सो विकेन्द्रिकृत भर्चुअल करेन्सी जारी हुनुभन्दा १५ वर्षअघि सन् १९९६ मा अमेरिकी खुफिया संस्था नेसनल सेक्युरिटी एजेन्सीले अभौतिक विद्युतीय मुद्राको अवधारणा अघि सारेको थियो । 

जोर्डन केली नामक व्यक्तिले सन् २०१४ फेब्रुअरी २० मा अमेरिकामा पहिलो पटक बिटिसी एटीएम बुथको स्थापना गरे । सोही वर्ष अगष्ट ६ मा पहिलो पटक बेलायत सरकारले राज्यस्तरमा क्रिप्टोको महत्व र राष्ट्रिय अर्थतन्त्रमा यसको प्रभावबारे अध्ययन गर्ने घोषणा गरे । 

अल्टक्वाइनमा झुम्मिए लगानीकर्ता 
बिटिसीको मूल्य वृद्धिसँगै अल्टक्वाइनको पनि मूल्य पनि उच्चरले बढेका छन् । लाइटक्वाइन, डगक्वाइन, पियरक्वाइन, इथर, भेरा लगायतका थुप्रै अल्टक्वाइनको मूल्य वृद्धि भएको छ । बिटिसीको मूल्य चर्को भएपछि थोरै मूल्यका क्वाइनमा लगानीकर्ता झुम्मिएका हुन् । 

बिटक्वाइनलाई सबैभन्दा पहिलो विकेन्द्रित भर्चुअल करेन्सीको रुपमा लिइन्छ । यसको कारोबार सामूहिक  रुपमा गरिने र क्रिप्टोग्राफीकल्ली भेरिफाइड हुने भएकाले यसको कारोबार सुरक्षित मानिन्छ । यो कुनै व्यक्ति विशेषको नेटवर्कको नियन्त्रणमा नरहने र संसारका कुनै पनि मुलुकमा सञ्चालन हुन नसक्ने गरी डिजाइन गरिएको भन्ने दाबी बिटक्वाइन फाउन्डेसनको छ ।

बिटक्वाइनपछि सबैभन्दा ठूलो परिमाणमा कारोबार भएको अर्को क्रिप्टो हो लाइटक्वाइन । यो सन् २०११ देखि प्रचलनमा आएको विकेन्द्रित भर्चुअल करेन्सी हो । यो क्रिप्टोलाई चार्ल्स लि भन्ने व्यक्तिले विकास गरेको मानिन्छ । जुन व्यक्ति बिटक्वाइनको दोस्रो प्रमुख व्यक्तिको रुपमा रहेको मानिने गरेको थियो । 

त्यस्तै, डार्कक्वाइन अर्को क्रिप्टो हो । यसको कारोबार पूर्ण रूपमा गोप्य हुन्छ । इभन डुफिल्ड भन्ने व्यक्तिले २०१४ मा विकास गरेको यस क्रिप्टो छोटो समयमा प्रयोगकर्तालाई निकै आकर्षित गरेको मानिन्छ । 

पियरक्वाइन अर्को मुख्य क्रिप्टो हो । यसलाई पियर टु पियर क्वाइन (पिटुभिपि) भन्ने गरिन्छ । यो क्रिप्टोलाई सफट्वेयर विकासकर्ताहरु सन्नी किंग र स्कट नाडल भन्ने व्यक्तिहरुले विकास गरेका हुन् । यसको प्रयोग सन् २०१२ देखि हुन थालेको हो । सन्नि किंग ले नै प्राइमक्वाइन नामक अर्को क्रिप्टो करेन्सीको विकास गरेका छन् । यसको फ्रेमवर्क भित्र प्राइम नम्बरहरु समावेश गरिएका छन । जसलाई कनिङघम चेन र विटविन चेन पनि भनिन्छ । जसले यसको  प्रयोगकर्तालाई सुरक्षित बनाएको छ । 

डगक्वाइन अर्को एक प्रकारको क्रिप्टो हो । यसको प्रयोग सन् २०१३ देखि भ्एको हो । यसलाई विली मार्कुस र ज्याकसन पलमिरले सृजना गरेको मानिन्छ । 

नेपालसहित आठ मुलुकले मात्र यस्ता क्रिप्टोमाथि पूर्ण प्रतिबन्ध लगाएका छन् । अल्जेरिया, बोलिभिया, इजिप्ट, मोरोक्को, पाकिस्तान र संयुक्त अरब इमिरेट्स पर्छन् । चीनसहित बहराइन, बंगालदेश, कोलम्बिया, डोमिनिकन रिपब्लिक, इण्डोनेसिया, इरान, कुवेत, लेसोथो, लिथुआनिया, मकाउ, ओमन, कतार, साउदी अरेयिबा, र ताइवानले अन्तरनिहित प्रतिबन्ध अर्थात विस्तृत अध्ययन गरेर नियमन ल्याउनेगरी रोक लगाएका छन् । 

विदेशी मुद्राका सञ्चिति सकिएर टाट पल्टिन लागेको भेनेजुएलाले महँगीको थेग्नै नसक्ने मारबाट पार पाउन सन् २०१८ अगष्टमा पेत्रो नाम क्रिप्टो जारी गर्यो । सरकारी स्तरबाट जारी भएको यो पहिलो क्रिप्टो हो । यसलाई प्रचलनमा ल्याउन रुस र इरानले सहयोग गरेको थिया । योसँगै बैंक अफ थाइल्याण्डले पनि क्रिप्टो तयारी गर्ने घोषणा गरेको थियो । 

भारतको सर्वोच्च अदालतले क्रिप्टो माथिको प्रतिबन्ध हटाएपछि केही राज्यमा एक्सचेन्ज नै स्थापना भएका छन् । चीन आफैँले क्रिप्टो जारी गर्ने प्रक्रिया अघि बढाएको छ । फेसबुकले स्विजरल्याण्डढमा ‘लिब्रा एसोसियसन’ नामक एक संस्था खडा गरी आफ्नै क्रिप्टो जारी  गर्ने  प्रयास अघि बढाएको छ ।