काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । उनको भ्रमण टोलीमा ३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्तिसहित ८७ जना चीन भ्रमणमा जाँदैछन् ।
नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक घोषणा र कार्यसूची सार्वजनिक गरेको छ । मंसिर १७ देखि २० गतेसम्मको उक्त भ्रणणमा चीनका राष्ट्रपति आदरणीय श्री शी जिनपिङसँग भेट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ली कियाङसँग द्विपक्षीय वार्ता गर्ने र आपसी चासोका विभिन्न विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम छ । त्यसैगरी, प्रधानमन्त्री ओलीले चीनका राष्ट्रिय जन कांग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्नेछन्।
भ्रमणको क्रममा, प्रधानमन्त्रीले पेकिन विश्वविद्यालयमा एक प्रमुख भाषण दिनेछन् ।उनले नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्नेछन्, जुन कार्यक्रम नेपाल दूतावास, चीन अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद (सीसीपीआईटी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) द्वारा संयुक्त रूपमा आयोजना गरिएको हो।
प्रधानमन्त्री र उनको भ्रमण टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, चिफ अफ प्रोटोकल विष्णुप्रसाद गौतम र प्रधानमन्त्रीका पार्श्ववर्ती लेफ्टिनेन्ट कर्णेल दिवाकर खड्कालगायत रहेका छन् ।