शीर्षकहरू

भाडा बढाएका छैनौँ, कालोबजारी गरेको पाइए कारवाही होस् : नेपाल एयरलाइन्स

भाडा बढाएका छैनौँ, कालोबजारी गरेको पाइए कारवाही होस् : नेपाल एयरलाइन्स

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आंशिक रूपमा बन्द भएको समयमा नेपाल वायुसेवा कम्पनीले टिकटको मूल्य वृद्धि गरेको आरोप लागिरहँदा नेपाल वायुसेवा निगमले भने हवाई टिकटको मूल्यमा वृद्धि नगरेको दाबी गरेको छ ।

निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइए नियमानुसार कडा कारवाही गर्नको लागि सप्रमाण जानकारी गराउन सम्बन्धित सबैलाई आग्रह  गरेको छ । विमानस्थल दश घण्टा बन्द भएपछि वायुसेवा कम्पनीहरूले अन्तर्राष्ट्रिय उडानहरूको टिकट मूल्य ह्वातै बढाएका छन् । विमानस्थल बन्द हुँदा उडानहरू कटौती भएको र पर्यटकीय मौसम परेकाले हवाई यात्रुको संख्या वृद्धि भएसँगै उडानको मागबमोजिम आपूर्ति हुन नसकेको अवस्थामा हवाई भाडा अत्याधिक बढेको भन्ने जनगुनासो रहेको छ ।

तर, हवाई भाडादर बजार माग तथा आपूर्तिको सिद्धान्तबमोजिम निगमको जहाज र सिट संख्याको उपलब्ताको आधारमा गत वर्षको सोहीअवधिको भाडादरको दायराभित्र नै रहेको निगमले दाबी गरेको छ । तर, निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष निर्देशनमा राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै निगमको अन्तर्राष्ट्रिय सेक्टरहरूको भाडा दरमा ५ हजार रूपैयाँसम्म छुट दिइने जनाएको छ । 

निगमका अनुसार दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा दुई हजार ५०० सम्म छुट दिइने छ भने दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा पाँच हजारसम्म छुट दिने निगमले जनाएको छ । छुटसहित निगमको अन्तर्राष्ट्रिय टिकट बिक्री कार्यालयबाट टिकट लिन सकिने व्यवस्था समेत मिलाइएको निगमले जनाएको छ । 

उपरोक्त छुट जहाजको सिट उपलब्धता अनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने छ र सोको लागि यात्रु स्वयं परिचय पत्रसहित उपस्थित हुनु पर्नेछ । 

निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत २०२४ नोभेम्वर १ देखि २२ तारिखसम्मको अवधिमा नेपाल क्यान्सर रिलिफ सोसाइटिको सिफारिसमा सम्वद्ध परिवारलाई काठमाडौं–दिल्ली–काठमाडौं सेक्टरको हवाई भाडादरमा ३७ जना अबुर्दरोग भएका बिरामीलाई सतप्रतिशत छुट, ३३ जना विरामीहरूका कुरुवाहरूलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइए जनाएको छ ।

त्यसैगरी २१ जना सरकारी कर्मचारीहरूलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको बताएको छ ।