शीर्षकहरू

बसको अग्रिम टिकट बन्द गरिँदै

बसको अग्रिम टिकट बन्द गरिँदै

काठमाडौं । यातायात व्यवसायीहरूले दशैँका लागि खुलाएको सार्वजनिक यातायातको अग्रिम टिकट बन्द गर्ने तयारी गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले शुक्रबार र शनिबार आएको वर्षापछिको बाढीपहिरोले सडकमा क्षति पुगेको र यातायात चलाउन मुस्किल भएकाले अग्रिम टिकट बन्द गर्न लागेको जानकारी दिए ।

बाढीपहिरोका कारण भएको क्षतिका कारण बस र यात्रु बीच बाटोमै अलपत्र परेकाले टिकट बुकिङ स्थगित गर्न लागिएको जानकारी उनले दिए । बाटोका कारण गएको बस कहिले पुग्छ र फर्किन्छ भन्नेसम्म यकिन हुन नसक्दा अग्रिम टिकट काटेर बस चलाउन सक्ने अवस्था अहिले नरहेको बताए ।

 

यो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा लैजान नसकिने उनको भनाइ छ । 'विषम परिस्थिति, वर्षालगायत कारण राज्यले व्यवस्थापन गर्न सकिरहेको छैन, विपी राजमार्ग ठप्पै छ, त्यहाँ ६०० सवारी साधन रोकिएका छन्, चालक खान नपाएको भनेर आफूलाई फोन गरिरहेका छन्, दुवै पट्टि पहिरो गएर बीचमा जोखिमपूर्ण अवस्थामा गाडी अड्किरहेका छन्, हामीले खाना नै पुर्याउन सकिरहेका छैनौँ, सरकारले पनि सकेको छैन, अनि कसरी चलाउन सकिन्छ गाडी ?' उनले भने, 'जाम जारी छ, धादिङ र दाउन्नेमा पहिरो खसिरहेकै छ, देशभरको सडक अस्तव्यस्त भएका कारण समस्या ठूलो छ, फेरि वर्षा हुने भनिरहेको छ, बीचमा रोकिएका गाडी र यात्रु जोखिममा परे, केही भए जिम्मा कसले लिन्छ ? वर्षा नहुँदा पनि सुक्खा पहिरो खसिरहेको छ, यातायात रोकिँदा अब हाम्रो सबै ‘सेडुअल’ बिग्रियो, अब हामीले टिकट बुक गर्न सक्ने अवस्था छैन, यदी गाडी समयमा आउने अवस्था नरहे यात्रुका पैसा फिर्ता गर्नेछौँ ।'

वर्षाका कारण विपत्तिको सङ्कटग्रस्त क्षेत्र घोषण गर्न ढिला गर्न नहुनेमा उgले सरकारलाई सुझाव दिP । मान्छेको ज्यान बचाउन राज्यले ध्यान दिनुपर्छ भन्दै सिटौलाले दशैँ पछि पनि मनाउन सकिने भएकाले अहिले ख्याल गर्नुपर्ने बताए । आज पनि बिहान ११ बजेदेखि गाडी रोक्न अनुरोध आएको सुनाउँदै उनले भने, 'एक ठाउँमा भए गाडी रोकौँला पन्छाएपछि सहज जाउँला भन्ने हुन्छ, जताततै भत्किएको अवस्थामा सहज सञ्चालन हुने अवस्था नै छैन ।' पहिरोको त्रास कायमै रहेको अवस्थामा बेलैमा सरकारले निर्णय गरोस् भन्ने आफूहरुको माग रहेको उनले बताए ।

यातायात व्यवसायीहरूले गएको शनिबारदेखि अग्रिम टिकट खुला गरेका थिए ।