मोदीको सय करोड ओझेलमा - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

मोदीको सय करोड ओझेलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
Sunrise bank
मोदीको सय करोड ओझेलमा
LBEF
NCH-IPS

जनकपुरधाम । गतवर्ष वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम भ्रमणका क्रममा जनकपुरको ऐतिहासिक १२ बिगाहा मैदानमा नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै जनकपुरको धार्मिक तथा सांस्कृतिक रूपमा विकासका लागि १ सय करोड भारतीय रुपैयाँ अनुदानको घोषणा गरे ।

तर, विभिन्न निकायबीच समन्वय नहुँदा घोषणा भएको डेढ वर्ष बितिसक्दा पनि उक्त सहयोग जनकपुर आउन सकेको छैन । प्रदेश २ सरकारका अघिकारीहरू भारतीय पक्ष उक्त रकम दिन तत्पर रहे पनि संघीय सरकारले यसबारे चासो नदिँदा रकम ओझेलमा परेको बताउँछन् । ‘अन्तरराष्ट्रिय सहयोग अथवा अनुदान सीधै प्रदेश सरकारले पाउँदैन । केन्द्रीय सरकारमार्फत आउँछ,’ आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले भने, ‘हामीले सर्वपक्षीय र सर्वदलीय छलफल गरी दुईओटा योजना छनोट गरेर संघीय सरकारलाई पठाइसकेका छौं तर संघीय सरकारले चासो लिएन ।’

यादवका अनुसार जनकपुरमा आकर्षक संग्रहालय र सुविधा सम्पन्न धर्मशाला निर्माणको लगत इस्टिमेट तयार गरी संघीय सरकारलाई पठाइसकिएको छ । काठमाडौंस्थित भारतीय दूतावासले मोदीको घोषणाअनुसार रकम दिन आफूहरू तयार रहेको बेहोरासहितको पत्र परराष्ट्र मन्त्रालयमा पठाए पनि प्रदेश सरकारले पठाएको योजनालाई संघीय सरकारले वास्ता नगरेको उनको आरोप छ ।

पैसा ल्याउन आरोप–प्रत्यारोप

प्रदेश २ मा भारतीय प्रधानमन्त्रीले घोषणा गरेको सहयोग आफ्नो पक्षमा पार्न विभिन्न निकायहरू– प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्– सबै लागिपरेका मात्रै छैनन्, आरोप–प्रत्यारोपमै उत्रिएका छन् ।

जनकपुरधामका मेयर लालकिशोर साहका अनुसार नगर कार्यपालिकामा मोदीले दिने भनेको सहयोग परिचालन गर्ने सम्बन्धमा दुईपटक बृहत् छलफल भइसकेको छ । सोही छलफलका आधारमा उपमहानगरपालिकाले ५ लाख रुर्ने खर्चेर डीपीआरसहित एक सय करोड खर्चने योजना बनाएर भारतीय राजदूतावासमा पेश गरिसकेको उनले बताए । उनका अनुसार जनकपुरमा ‘अन्तरराष्ट्रिय रामसीता कन्भेन्सन हल’ निर्माणका लागि ७ महीनाअघि नै योजना पेश गरिसकिएको छ । तर, राजदूतावासले वास्ता नगरेको उनको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस