शीर्षकहरू

बाढीपहिरो अपडेट : २० वटा जलविद्युत आयोजना क्षतिग्रस्त, दुई अर्ब २१ करोड बराबर क्षति

बाढीपहिरो अपडेट : २० वटा जलविद्युत आयोजना क्षतिग्रस्त, दुई अर्ब २१ करोड बराबर क्षति

लगातार वर्षाका कारण आएको बाढी पहिरोले २० वटा जलविद्युत आयोजना क्षतिग्रस्त भएको छ । क्षतिग्रस्त १५ आयोजनामा दुई अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति भएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले जनाएको छ । अन्यको विवरण भने आउन बाँकी छ । 

इप्पानका मकवानपुर स्थित अुनसार मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुरको पावर हाउस पूर्ण रुपमा डुबेको छ । बाँध क्षेत्रमा क्षतिग्रस्त भएको छ । बाढीले आयोजनामा करिब १ अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानले दाबी गरेको छ । 

पाँचथर स्थित माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाको पावर हाउस डुबानमा परेको छ । आयोजना डुबान पर्दा करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

सुपर त्रिशूली जलविद्युत आयोजनाको करिब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आयोजनाको २ वटा स्काभेटर, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको छ । त्यस्तै, बेलीब्रिज बगाएको छ भने पावर हाउस स्काभेसन पुरिएको छ । 

सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति भएको छ भने उत्पादन बन्द भएको छ । उत्पादन बन्द हुँदा करिव ५ करोड रुपैयाँ बराबर क्षति भएको आयोजनाको दाबी छ । 

इलाम स्थित सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति भएको छ । आयोजनामा करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको छ । त्यस्तै, फेमे खोला जलविद्युत आयोजना १ मेगावाटमा बाँध र विद्युतगृह पूर्णरुपमा क्षति हुँदा करिब १० करोड रुपैयाँ बराबर क्षति भएको छ ।

सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट को टेलरेस, इन्टेक र टनेलमा क्षति भएको छ । जसका कारण करिव २ करोड रुपैयाँ बराबर क्षति भएको छ । 

नुवाकोट स्थित माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको क्याम्प हाउस, पहुँचमार्गमा क्षति भएको छ भने ३ वटा कन्टेनर बगाएको छ । जसका कारण करिब १० करोड रुपैयाँ बराबर क्षति भएको छ । 

पाँचथर स्थित हेवाखोला जलविद्युत आयोजनामा १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । आयोजनाको क्रसर पुरिएको छ भने पहुँच मार्ग क्षति हुनुका साथै प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको छ । 

सभाखोला बी जलविद्युत आयोजनामा करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ । अयोाजनाको पहुँचमार्ग, पावरहाउस पुरिएको छ भने बाँधमा क्षति भएको छ । अस्थाई पुल बगाएको छ । 

सभाखोला सी जलविद्युत आयोजनामा करिब ३ करोड रुपैयाँ बराबर क्षति भएको छ । लान्द्रुक मोदी जलविद्युत आयोजनामा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यि दुई आयोजनाको पहुँच मार्ग क्षतिग्रस्त भएका छन् । 

खानीखोला जलविद्युत आयोजनाको करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ । आयोजनाको पावर हाउस डुबेको छ भने प्रसारण लाइनको टावर ढलेको छ । स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँच मार्ग धेरै ठाउँमा क्षति पुगेको छ । 

टुङ्गुन ठोस्ने जलविद्युत आयोजनामा करिब १५ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । आयोजनाको पावर हाउस डुबेको छ भने प्रसारण लाइनको टावर ढलेको छ । त्यस्तै, स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति पुगेको छ । पहुँच मार्ग धेरै ठाउँमा क्षत विच्छेद भएको छ । 

माया खोला जलविद्युत आयोजनामा भने २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । आयोजनाको बाँध र पहुँचमार्गमा क्षति भएको छ । 

सुपरन्यादी जलविद्युत आयोजना, इलेप खोला तातोपानी जलविद्युत आयोजना, लाङटाङ खोला जलविद्युत आयोजनाको, हेवाखोला जलविद्युत आयोजना र दुधकोशी जलविद्युत आयोजनाको क्षतिको विवरण भने आउन बाँकी रहेको इप्पानले जनाएको छ ।