शीर्षकहरू

बाढीपहिरो अपडेट: १२७ जनाको मृत्यु, ६३ बेपत्ता

बाढीपहिरो अपडेट: १२७ जनाको मृत्यु, ६३ बेपत्ता

काठमाडौं । असोज ११ गते देखि सुरु भएको अविरल वर्षाका कारण देशभर १२७ जनाको मृत्यू भएको छ । ७६ जना घाइते भएका छन् भने ६३ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३९४ जनाको उद्धार गरिएको छ । उद्धार कार्यमा ९ हजार ९८३ प्रहरी परिचालन गरिएको छ । 

विभिन्न स्थानमा भएका घटनाको तथ्यांक प्राप्त हुन बाँकी रहेको र प्राप्त तथ्यांकको भेरिफाई गर्न बाँकी रहेकोले मृतक, घाइते र बेपत्ता भएको संख्या बढ्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ । 

त्यस्तै आइतबार विपि मार्ग र पनौती क्षेत्रमा अलपत्र परेको ८० को उद्धार गरिएको गृहमन्त्रालयका सुचना अधिकारी दिल कुमारले तमाङले बताए । 

वर्षाका कारण १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको प्रारम्भिक तथ्यांक प्राप्त भएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले जनाएको छ । आयोजनामा पुगेको क्षतिको विषयमा थप जानकारी आउन बाँकी रहेको इप्पानले जनाएको छ । 

त्यस्तै, २३ वटा राजमार्गमा ६५ वटा भन्दा बढी स्थानमा राजमार्गहरु अवरुद्ध भएको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । सडकमा भएका क्षति र चाडपर्वका विषयमा अपनाउनु पर्ने पूर्व सावधानीका विषयमा पूर्वाधार मन्त्रालयले छलफल गर्न लागेको मन्त्रालयका सहायक प्रवक्ता सुशील बाबु ढकालले बताए । ‘मन्त्री र सचिव ज्यू काठमाडौं बाहिर हुनुहुन्छ । उहाँहरू आउने बित्तिकै आज छलफल गर्दैछौ । यातायात कसरी सहज र सुरक्षित बनाउने विषयमा केही निर्णय हुनेछन्,’ उनले भने । 

त्यस्तै, राष्ट्रिय राजमार्गमा भएका अवरोधहरू हटाउने कार्यमा सडक विभागका हेभि मेसिन तथा जनशक्तीहरु पूर्ण क्षमतामा परिचालन गर्ने तथा नपुग मेशिनहरु भाडामा समेत लिई छिटो भन्दा छिटो अवरुद्ध राजमार्गहरु खुलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभाग खटिइरहेको पनि उनले बताए  । 

१६ जलविद्युत आयोजना क्षतिग्रस्त

११ गते देखि परेको वर्षाका कारण देशभरका १४ वटा जलविद्युत आयोजनहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अनुसार मकवानपुर स्थित मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजनाको पावर हाउस पूर्ण रुपमा डुबानमा परेको छ । पाँचथर स्थित माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाको पावर हाउस पनि डुबानमा परेको छ । 

पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना पनि क्षतिग्रस्त भएको छ । गत वर्षको बाढीले क्षतिग्रस्त भएको यो आयोजना पुन : निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएको हो । सोलुखुम्बु स्थित साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षतिग्रस्त भएको छ । आयोजनाको उत्पादन बन्द बन्द भएको छ । 

इलामस्थित सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षतिग्रस्त भएको छ भने उत्पादन बन्द भएको छ । त्यस्तै, सोही कम्पनीद्धारा प्रवर्द्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना बाँध र प्रसारण लाइनमा क्षति पुगेको छ । 

null

पाँचथरस्थित १ मेगावाटको फेमे खोला जलविद्युत आयोजनाको बाँध र विद्युतगृह पूर्णरुपमा क्षतिग्रस्त भएको छ । लमजुङमा रहेको ५ मेगावाटको सिउरी खोला जलविद्युत आयोजना टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ । ४० मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनाको पहुँच मार्ग र प्रोटेक्सन वालमा क्षति पुगेको छ । 

धादिङ स्थित २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत आयोजनासम्म पुग्ने सडकमा ठूलो क्षति भएको छ । नुवाकोटको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना क्याम्प हाउस, पहुँच मार्गमा क्षति पुगेको छ भने ३ वटा कन्टेनर बगाएको छ । 

पाँचथर स्थित १० मेगावाट हेवाखोला जलविद्युत आयोजनाको क्रसर पुरिएको छ । आयोजनासम्म पुग्ने सडक क्षतिग्रस्त भएको छ । त्यस्तै, प्रसारण लाइनको टावर ढलेको छ भने पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको छ । पाँचथरकै १५.१ मेगावाटको सभाखोला बी जलविद्युत आयोजनाको सडक मार्ग र पावरहाउस पुरिएको छ । बाँधमा क्षति पुगेको छ भने अस्थाई पुल बगाएको छ । 

सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट र कास्की स्थित लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाटको पहुँच मार्गमा क्षति पुगेको छ । सुपर त्रिशुली जलविद्युत आयोजना १०० मेगावाटको २ वटा स्काभेटर बगाएको छ । २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको छ ।  बेलीब्रिज बगाएको छ भने पावर हाउस स्काभेसन पुरिएको छ । 
जलविद्युत आयोजनामा सञ्चार सम्पर्क विच्छेद भएकाले सबै आयोजनाको विवरण प्राप्त हुन नसकेको इप्पानले बताएको छ । 

२३ राजमार्गमा ६५ स्थानमा राजमार्गहरु अवरुद्ध 
अविरल ​​​​​​वर्षाका कारण देश भरीका ८० वटा राष्ट्रिय राजमार्गहरु मध्ये २३ वटा राजमार्गहरुका विभिन्न ६५ भन्दा बढी स्थानमा राजमार्गहरु अवरुद्ध भएका छन । 

देशको राजधानी जोड्ने लाइफ लाइनका रुपमा रहेको मुख्य राजमार्ग नागढुङ्ग नौविसे मुग्लिन सडक, धादिङ्गको कमेरे, मलेखु, सितलाबजार लगायतका स्थान अबरुद्ध भएको छ । नागढुङ्गा सुरुङ्ग मार्गको पश्चिम पोर्टल तर्फ रोकिएका यात्रुवाहक तथा मालवाहक सवारी साधनहरुलाई निर्माणाधीन सुरुङ्ग मार्गको सुरुङ्ग प्रयोग गरी काठमाडौं भित्र्याउने कार्यमा सहजीकरण गरिएको छ । 

मुग्लिन पोखरा सडकखण्ड तथा मलेखु मुग्लिन नारायणघाट सडकखण्डका पहिरोहरु पन्छाई सडक सुचारु अवस्थामा राखिएको छ । विपि राजमार्गको भुरुङ्गे, माथिल्लो सिस्नेरी, माम्ती, नेपालथोक, मङ्गगलटार लगायतका विभिन्न स्थानमा भएका अवरोधलाई हटाउने प्रयास भइरहेको छ । पुष्पलाल मध्यपहाडी राजमार्गको सिन्धुलीको रिठ्ठावोट, फिक्कल, कुखुरेटार र खोटाङ्गको खोक्सेली लयायतका स्थानमा भएको अवरोधलाई छिट्टै खुलाउने तर्फ प्रयत्न भइरहेको छ ।

यसका अलावा कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग, मिर्चेया कटारी घुर्मी, शहीद मार्ग रोल्पा, भेरी कोरिडोर, सालझण्डी सन्धीखर्क लगायतका सडकका विभिन्न स्थानमा आएका पहिरोलाई हटाई छिट्टै यातायात सुचारु गर्ने प्रयास भइरहेको मन्त्रालयका सह प्रवक्ता सुशील बाबु ढकालले बताए । 

null

मेची राजमार्गको हेवा खोलाको वेलिबृज र अरनिको राजमार्गको लार्चा स्थित बेलिबृज पूर्ण रुपमा बगाई आवागमन अवरुद्ध भएको छ । दोलखा र रामेछाप जिल्लालाई तराईका जिल्ला संग जोड्ने लाइफ लाइनको रुपमा रहेको खुर्कोट स्थित सुनकोशी नदी पुलको बायाँतर्फको स्पान पूर्ण रुपमा क्षति भएको छ ।