सामूहिक बलात्कारमा परेकी पूजाको न्यायाधीश बन्ने सपना - Aarthiknews
aarthiknews.com सोमबार, ३० मंसिर २०७६   Monday, 16 December, 2019
 
Bajaj_Bike

सामूहिक बलात्कारमा परेकी पूजाको न्यायाधीश बन्ने सपना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
Sunrise bank
सामूहिक बलात्कारमा परेकी पूजाको न्यायाधीश बन्ने सपना
LBEF
NCH-IPS

काठमाडौं । राजधानीको एक क्याम्पसमा बीए एलएलबी चौथो सेमेस्टरमा अध्ययनरत २३ वर्षीया पूजा (नाम परिवर्तन) आठ वर्षअघि बैतडी जिल्ला सदरमुकाम खलङ्गामा भएको पाशविक र पीडादायी घटना सम्झना पनि गर्न चाहान्न।

वि.सं. २०६८ चैतमा गाउँबाट एसएलसीको परीक्षा दिन सदरमुकाम झरेकी पूजामाथि भएको सामूहिक बलात्कारको घटनालाई जतिसुकै बिर्सन खोजे पनि न्यायको चेतनाले भने उनलाई बारम्बार झस्काइरह्यो ।

त्यही चेतनाले बारम्बार झस्काएकै कारण पीडित पूजाले आठ वर्षपछि न्याय पाएकी छन् । सर्वोच्च अदालतले पूजामाथि भएको पाशविक र पीडादायी अपराधमा संलग्न अभियुक्तलाई दोषी ठहर गरी ११ वर्ष कैद र १० लाख रुपियाँ क्षतिपूर्ति सजाय सुनाएको छ । तर अपराधी अझै फरार छन् ।

“यो फैसलाले मेरो पीडामा मल्हमपट्टी लगाइदिएको छ”, पीडित पूजाले भनिन, “अपराधीलाई छिट्टै पक्राउ गरी कानुनको कठघरामा उभ्याइयोस् ।’’ सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयाँलको संयुक्त इजलासले यही सोमबार उक्त फैसला सुनाएको हो ।

तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले जिल्ला अदालत बैतडीको फैसला उल्ट्याउँदै सामूहिक बलात्कार अपराधमा संलग्न सागर भट्ट र अमर अवस्थीलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो । सो आदेशले पूजालाई चोटमाथि चोट थपिदियो । दुवैजना फरार भए ।

तर पनि पूजाले हिम्मत हारिनन्, ‘इँटको जवाफ पत्थरले दिने’ दृढ विश्वासका साथ न्यायका लागि निरन्तर लडिरहिन् । अन्ततः आठ वर्षको सङ्घर्षपछि न्याय प्राप्त भयो । उनले भिनन्, “पुनरावेदन अदालतको फैसलाले पुनः मारेको अनूभूति गरेकी थिएँ ।”
१६ वर्षको किशोरी अवस्थामा भएको त्यो पीडादायी घटना सम्झन्न पनि चाहन्नँ । पुनरावेदन अदालतको आदेशपछि निराश बनेकी पूजा आफ्नो न्यायका लागि मात्र नभई आफूजस्तै अन्य पीडित चेलीबेटीको न्यायका लागि कानुन पढ्न थालेकी छन् ।

उनले व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२ उत्तीर्ण गरेपछि बीए एलएलबी पढ्न थालिन । कानुन पढेर राम्रो वकिल वा न्यायाधीश बन्ने सपना उनकाे छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस