काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म शिवम् सिमेन्ट लिमिटेडले २५ करोड २ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा ५७ दशमलव ९३ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ५९ करोड ४७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको आम्दानी कम भएसँगै खुद नाफामा असर परेको हो । अघिल्लो वर्ष सञ्चालबाट भएको आम्दानी ७ अर्ब ७५ करोड रूपयाँभन्दा बढी रहेकोमा गत वर्ष ७ अर्ब ७० करोड रूपैयाँभन्दा बढी मात्र भएको छ । त्यस्तै अन्य आम्दानी अघिल्लो वर्ष ३६ करोड ३७ लाख रूपैयाँभन्दा बढी भएकोमा गत वर्ष १९ करोड ८५ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । विक्री खर्च भने गत वर्ष बढेको छ ।
अघिल्लो वर्ष ६ अर्ब ४६ करोड रूपैयाँभन्दा बढी विक्री खर्च गरेको कम्पनीले गत वर्ष ६ अर्ब ६७ करोड रूपैयाँभन्दा बढी विक्री खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब २ करोड ७० लाख रूपैयाँ छ भने जगेडा कोष रकम ४ अर्ब ४७ करोड ५० लाख रूपैयाँभन्दा बढी छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४ रूपैयाँ ९८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रूपैयाँ २ पैसा छ ।