काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको आज अनुगमन गरेका छन् ।
उनले अनुगमनका क्रममा त्यहाँका आयात नियमन गर्ने पोर्टका आधिकारिक व्यक्ति र शिपिङ कम्पनीसँग अन्तरक्रियासमेत गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा मन्त्री भण्डारीले आयात तथा निर्यातकर्तासँग नेपाल आयात हुने वस्तु तथा सेवा र निर्यातका पक्षबारे छलफल गरेका थिए । उनलाई आयात तथा निर्यातकर्ताले नेपाल सरकारले गर्नुपर्ने आवश्यक सहायताका विषयमा ध्यानाकर्षण गराए ।
मन्त्री भण्डारीले आयात तथा निर्यातमा नेपाल सरकारका तर्फबाट हुने आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भारत सरकारसँग पनि आवश्यक सहयोगका लागि पहल गर्ने बताए ।
सो क्रममा उनले नेपालको आयात तथा निर्यातमा सघाउन स्थानीय आयात तथा निर्यातकर्तासँग आग्रह गरे । उनलाई पोर्टका कर्मचारीले नेपालको आयात निर्यातबारे जानकारी गराएका थिए । सो क्रममा मन्त्री भण्डारीलाई त्यहाँका प्रतिनिधिले व्यापारिक समस्याबारे जानकारी गराएका थिए ।