शीर्षकहरू

बाढीले बगाएको कल्भर्ट पुनःनिर्माण नहुँदा आवागमनमा समस्या

बाढीले बगाएको कल्भर्ट पुनःनिर्माण नहुँदा आवागमनमा समस्या

सप्तरी । बाढीले बगाएको राजविराज–कञ्चनपुर खण्ड जोडिने पुलको कल्भर्ट पुनःनिर्माण नहुँदा आवागमनमा समस्या भएको छ । गत असार दोस्रो साता वर्षासँगै आएको बाढीले सप्तरीको तिरहुत गाउँपालिका–२ स्थित बरहारा र मैनाकडेरीको बीचमा पर्ने चन्द्र नहरमा निर्माणाधीन पुलको कल्भर्ट भत्काएर बगाएको थियो ।

ठाउँमा अहिलेसम्म पुनः निर्माण नहुँदा आवागमनमा सास्ती भएको स्थानीय बताउँछन् । हुलाकी सडकअन्तर्गत पर्ने राजविराज–कञ्चनपुर खण्डमा दैनिक सयौँ सवारीसाधन सञ्चालन हुन्छन् । कल्भर्ट पुनः निर्माण नहुँदा सवारीसाधनका साथै पैदल यात्रीलाईसमेत समस्या भइरहेको तिरहुत–२ का अशोक यादवले बताए । 

उनले भने, “सदरमुकाम राजविराजबाट करिब १३ किलोमिटर पूर्व हुलाकी राजमार्गमा पर्ने उक्त खण्डमा पुलमा बाढीले क्षति पुर्‍याएको थियो भने कल्भर्ट बगाउँदा आवागमनमा सास्ती भइरहेको छ ।” राजविराज र कञ्चनपुर कुनै काम विषेशले जानुपरेमा सवारीसाधन आउजाउ गर्न समस्या हुने गरेको उनले गुनासो गरे ।

कल्भर्ट भत्किएको ठाउँभन्दा तलो भागमा माटो भरेर हलुका सवारीसाधन सञ्चालन गर्न अस्थायी मार्ग बनाइएको भन्दै सामान्य वर्षामा पनि उक्त बाटोबाट मोटरसाईकल, साईकल र चार पाङ्ग्रे सवारी आवागमनमा समस्या भइरहेको स्थानीय विजय महत्मानले बताए । 

मोहुली खोला तथा चन्द्र नहरमा आएको बाढीले क्षति गरेको कल्भर्ट पुनःनिर्माण गरी आवागमन सहज बनाउनेतर्फ सम्बन्धित निकायले चासो नदिँदा समस्या भएको सवारी चालक सन्तोष यादवले बताए । सवारीसाधन सञ्चालन हुन नसकेपछि आम्दानी नभएको भन्दै जीविकोपार्जनमासमेत सास्ती हुन थालेको उनले उल्लेख गरे । 

असार र साउनमा ठूलो वर्षाका कारण मोहुली खोलामा आएको बाढीले कोशी पम्प चन्द्र नहर सिँचाइ योजनाको निर्माणाधीन संरचना तथा उपकरणसमेत क्षति पुर्‍याएको तिरहुत–२ का वडाध्यक्ष सञ्जीवकुमार यादवले जानकारी दिए । उनका अनुसार बाढीले करिब पाँच सय बिघा जमिनमा क्षति पुर्‍याएको छ ।