काठमाडौं । बंगलादेशमा शेख हसिनाको पतनपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । हसिनाले राजीनामा दिएर देश छोडेपछि आन्दोलनकारी विद्यार्थीहरूको मागअनुसार सेनाको समर्थनमा ८४ वर्षीय प्राध्यापक युनुसलाई बिहीबार अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको छ ।
उनले देशका राष्ट्रपतिबाट बिहीवार राति अन्तरिम सरकारको प्रमुख सल्लाहकारको शपथ लिएका छन् । १७ सदस्यीय अन्तरिम सरकारको नेतृत्व गरेका युनुस लघुवित्तका संस्थापक हुन् । माइक्रोफाइनान्सका विज्ञ उनलाई सन् २००६ मा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।
उनको नेतृत्वमा बनेको अन्य अन्तरिम सरकारका सदस्य पनि विविध क्षेत्रका विज्ञ रहेका छन् । यस्तो छ १६ मन्त्रीको प्रोफाइल :
डा सालेहुद्दीन अहमद : सालोहुद्दीन बंगलादेश केन्द्रीय बैंकका पूर्वगर्भनर हुन् । आफ्नो कार्यकालमा उनले केन्द्रीय बैंकका कार्यहरूमा सुधार ल्याएका थिए । उनले सरकारमा रहेर वित्तीय क्षेत्रलाई स्थिर बनाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।
ब्रिगेडियर जनरल (सेवानिवृत्त) एम सखावत होसैन : सैनिक पृष्ठभूमिका हौसेनले पूर्व निर्वाचन आयुक्तको रूपमा पनि अनुभव बटुलिसकेका छन् । उनमा सुरक्षा र प्रशासनिक निरीक्षणमा गहिरो अध्ययन छ । बंगलादेशको हालको अस्थिर राजनीति र हिंसात्मक गतिविधिका बीच शान्ति स्थापनामा उनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।
डा एमडी नज्रुल इस्लाम (आसिफ नज्रुल) : नज्रुल एक सम्मानित कानून प्राध्यापक र अनुसन्धानकर्ता हुन् । नज्रुलको संविधानिक र अन्तर्राष्ट्रिय कानुनी मामिलामा विशेषज्ञता कानूनी सुधार र लोकतान्त्रिक सिद्धान्तहरूको पालना सुनिश्चित गर्न महत्त्वपूर्ण हुनेछ ।
अदिलुर रहमान खान : खान मानवअधिकारवादी वकील हुन् । उनले अन्तर्राष्ट्रिय मानवअधिकार महासंघका महासचिवको रूपमा पनि काम गरिसकेका छन् । खानलाई मानवअधिकार र न्यायका क्षेत्रमा नागरिक स्वतन्त्रताहरूको रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अवसर छ ।
एएफ हसन अरिफ : उनी पनि एक वरिष्ठ वकिल हुन्, जसले पूर्व एटर्नी जनरलको रूपमा काम गरेका छन् । अरिफ कानूनी मार्गदर्शन प्रदान गर्ने र नयाँ कानूनी ढाँचाहरू लागू गर्नेमा महत्त्वपूर्ण योगदान गर्नेछन् ।
एमडी तौहीद होसैन : पूर्व विदेश सचिव र उच्च आयुक्तको रूपमा होसैनले अनुभव बटुलेका छन् । बंगलादेशको विदेशी सम्बन्ध र कूटनीतिक संलग्नतामा उनको भूमिका महत्त्वपूर्ण हुनेछ ।
सय्यदा रिज़वाना हसन : बंगलादेश पर्यावरणीय वकिल संघकी प्रमुख कार्यकारीको रूपमा हसनले काम गरेकी छन् । पर्यावरणीय कानुन र दिगो विकासमा राम्रो दक्षता हासिल गरेकी उनले पर्यावरणीय चुनौतीहरूको समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछिन् ।
सुप्रदीप चाक्मा : चिटगाँव हिल ट्राक्ट्स विकास बोर्डका अध्यक्षको रूपमा काम गरेका चाक्माको विकास र कूटनीतिक अनुभव छ । क्षेत्रीय समस्याहरू समाधान गर्न महत्त्वपूर्ण हुनेछ ।
फरिदा अख्तर : यूबिआईएनआईजीका संस्थापक अख्तरको नाम जैविक विविधता र दिगो कृषिसम्बन्धी अनुसन्धानको लागि प्रख्यात छ । अख्तरको योगदानले पर्यावरणीय र कृषि सुधार पहल गर्न सहयोग पुग्नेछ ।
बिधन रंजन रॉय : मनोविज्ञानमा विशेषज्ञता र नेशनल इंस्टिट्यूट अफ मेन्टल हेल्थ एण्ड हस्पिटलमा निर्देशकको रूपमा काम गरिसकेका रॉयको भूमिका मानसिक स्वास्थ्य पहल र समर्थनमा योगदान गर्नेछ ।
शर्मीण मुर्शिद : ब्रोतीको सीईओको रूपमा काम गरेका मुर्शिदले आदिवासीहरूको अधिकारका लागि काम गरिरहेका छन् । अस्थायी सरकारको सामाजिक न्याय र समावेशिता लक्ष्यसँग उनको कामले मेल खाएको छ ।
एएफएम खालिद होसैन : हौसैन इस्लामिक धर्मका विज्ञ हुन् । सामाजिक सुधारकको रूपमा प्रख्यात होसैनले शिक्षा र धर्ममा योगदान गरेका छन् । सामाजिक सुधारहरूको कार्यान्वयनलाई सांस्कृतिक मूल्यहरूसँग समन्वय गर्न उनले महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।
फरूक–ए–आज़म : स्वतन्त्रता सेनानी र नौसेना कमाण्डोको रूपमा उनले काम गरेका छन् । उनको उपस्थितिले ऐतिहासिक महत्त्व र नैतिक अधिकार प्रदान गर्ने विश्वास गरिएको छ, जसले जनतामा एकता र सहनशीलता प्रोत्साहित गर्न सक्छ।
नुर्जहान बेगम : उनले युनुसको नजिकको सहयोगीका रुपमा काम गरेका छन् । ग्रामिण बैंकको स्थापनामा प्रमुख भूमिका खेल्ने बेगमको अनुभव र आर्थिक विकासको प्रतिबद्धताले अस्थायी सरकारको अर्थतन्त्र सुधार र गरीवि निवारणको लक्ष्यलाई पूरा गर्ने विश्वास गरिएको छ ।
नाहिद इस्लाम : कोटा सुधार आन्दोलनमा उनले महत्वपूर्ण योगदान गरेका छन् । इस्लामको राजनीतिक परिवर्तनमा अनुभवले हालका मुद्दा र सुधार आवश्यकताहरूलाई सम्बोधन गर्न उनले भूमिका खेल्ने विश्वास गरिएको छ ।
आसिफ महमूद : आसिफ हालै बंगलादेशमा सम्पन्न कोटा सुधार आन्दोलनका प्रमुख नेता हुन् । उनी भर्खर २६ वर्षका भए । महमूदको सक्रियता र वकालतले युवा र शैक्षिक सुधारका लागि आन्दोलन सफल भएको थियो । उनले यी क्षेत्रमा सुधार गर्ने विश्वास गरिएको छ ।