शीर्षकहरू

नेपाल-भारत विद्युत् व्यापार : आयातभन्दा निर्यात १३ करोड बढीको

नेपाल-भारत विद्युत् व्यापार : आयातभन्दा निर्यात १३ करोड बढीको

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०८०/८१ मा भारतसँगको विद्युत् व्यापारमा नाफा कमाएको छ । आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आज नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त जानकारी दिएका हुन् ।

गत वर्ष आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्यु निर्यात गरी खुद् विद्युत् निर्यातमा इतिहास बनाएको उनले बताए ।

हाल देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम पनि विद्युत् निर्यात भइरहेको छ । विद्युत् निर्यात परिमाण हरेक वर्ष बढिरहेको उनले बताए । नेपालले औपचारिक रुपमा विद्युत निर्यात नोभेम्बर २०२१ बाट शुरु गरेकोमा  निर्यातको मात्रा बढ्दै गएर गत आवमा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको जानकारी उनले दिए ।

वर्षायाममा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो  भएको उनले बताए । तसर्थ, गत आवमा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गर्नुपरेको उनले जानकारी दिए ।

यद्यपि, आयातभन्दा निर्यात बढी भएको उनको भनाइ छ । 'गत आर्थिक वर्षमा आयातभन्दा करिब १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ जसले गर्दा आर्थिक वर्ष २०८०/८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर गौरवमय इतिहास बनाउन सफल भएको छ,' उनले भने, 'यो नेपालको जलविद्युत विकासका लागि कोशेढुङ्गो हो, महत्वपूर्ण प्रस्थान विन्दु हो ।'