काठमाडौं । जीवन बीमालेखको सङ्ख्या घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमा लेखको सङ्ख्या १.८१ प्रतिशतले घटेको हो ।
बीमा प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुले एक करोड ४१ लाख ३७ हजार ३२१ बीमालेख बिक्री गरेका थिए । तर, गत आवमा भने एक करोड ३८ लाख ८१ हजार ४९२ बीमालेख बिक्री गरेका हुन् । जुन अघिल्लो आवको तुलनामा २ लाख ५५ हजार ८२९ कम हो ।
म्यादी र लघु म्यादी जीवन बीमालेखको सङ्ख्या पनि घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ६८ लाख ९ हजार ९३७ बीमालेख बिक्री भएकोमा गत आवमा ५९ लाख ८२ हजार ७२६ वटा मात्रै बिक्री भए । जुन अघिल्लो आवको तुलनामा १२.१५ प्रतिशत कम हो ।
निर्जीवन बीमालेखको सङ्ख्या भने ३.९१ प्रतिशतले बढेको छ । गत आवको निर्जीवन बीमा कम्पनीहरुले २९ लाख १ हजार ६४० बीमालेख बिक्री गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा २७ लाख ९२ हजार ५१६ वटा बीमालेख बिक्री भएको थियो ।
यता बीमाको दायरामा आएको जनसङ्ख्या प्रतिशत पनि घटेको छ । २०८० को असार मसान्तसम्म यस्तो दायरा ४४.३८ प्रतिशत रहेकोमा गत आवको असार मसान्तसम्ममा ४३.२७ मा झरेको छ ।